मेडिकल अनुगमनमा आएको सरकारी टोलीलाई व्यवसायीले थुनेपछि…

काठमाडौं । इनरुवामा रहेका मेडिकलहरूको अनुगमनमा पुगेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको टोलीलाई मेडिकल व्यवसायीहरूले थुनेका छन् ।

अनुगमनका क्रममा कागजपत्र चेकजाँच गर्ने क्रममा मेडिकल व्यवसायीले अनुगमन गर्न गएको टोलीलाई मेडिकल हलभित्रै थुनेका छन् । मेडिकल सञ्चालकहरूले अनुगमन गर्न पुगेको टोलीलाई विराट डाइग्नोस्टिक मेडिकल हलको सटर झारेर थुनेको हो ।

अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत केशव खतिवडा, जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईं, जिल्ला अस्पताल इनरुवाका मेसु देवराज घिमिरेलगायत छन् ।

उनीहरूले इनरुवा नगरपालिकाका उपमेयर विनिता मेहताको मेडिकलमा समेत चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उपमेयरका श्रीमान् योगेन्द्र मेहतासँग विवाद भएको थियो । विवादपछि अर्को मेडिकलमा अनुगमन गर्न गएका बेला उपमेयरका श्रीमान् योगेन्द्रको नेतृत्वमा अनुगमन टोलीलाई थुनेको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख प्रशासकीय अधिकृत केशव खतिवडाले बताए ।

अहिले इनरुवास्थित अस्पताल चोकमा मेडिकल व्यवसायी र स्थानीयले नाराबाजी गरिरहेका छन् । प्रहरीले थुनामा रहेको अनुगमन टोलीलाई निकाल्ने प्रयास गरिरहेको छ ।