विमानस्थलमा मुख्यमन्त्री कार्यालयले गाडी नपठाएको भन्दै कार्की आफ्नै निवासतिर लागेपछि…

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गाडी नपठाएपछि पूर्वमुख्यमन्त्री हिक्मत कार्की विराटनगर विमानस्थलबाट आफ्न निवासतर्फ लागेका छन्।

यसअघि उनले आज कामचलाउ मुख्यमन्त्रीका हैसियतमा मुख्यमन्त्री कार्यालय जाने तयारी गरेका थिए।

हिजोसम्म काठमाडौंमा रहेका कार्की शुक्रबार बिहान साढे ९ बजे जहाजबाट विराटनगर पुगेका थिए।

उनी विराटनगर आउनुअघि उनको सचिवालयले मुख्यमन्त्री कार्यालयमा फोन गरेर गाडी पठाइदिन भनेको थियो।

‘कार्कीको सचिवालयले विराटनगर विमानस्थलमा गाडी पठाइदिनू, मुख्यमन्त्री आउँदै हुनुहुन्छ भनेर खबर गरेका छन्,’ मुख्यमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘प्रमुख सचिव यही विषयमा छलफल गर्न प्रदेश प्रमुखको कार्यालयमा जानुभएको छ।’

कार्कीले आफ्नो सरकारमा रहेका पूर्वमन्त्रीहरूलाई पनि सम्बन्धित मन्त्रालयमा जान भनेका छन्।

मुख्यमन्त्री कार्यालयले गाडी नपठाएपछि कार्की विमानस्थलबाट संसदीय दलको नेताले चढ्ने गाडीमा चढेर निवासतिर गएका हुन्।

‘मन्त्रालयमा केही काम पर्‍यो र मुख्यमन्त्री कार्यालयले गाडी पठायो भने जान्छु,’ उनले भने।

सर्वोच्चले सात दिनभित्र नयाँ सरकार बनाउन भनेकाले आफूहरू बहुमत जुटाउनतर्फ लागेको उनले बताए।

सर्वोच्चको बिहीबारको आदेशपछि उद्धव थापाको सरकार असंवैधानिक ठहर भएपछि हिक्मत कार्की नै कामचलाउ सरकारको मुख्यमन्त्री रहने एकथरिको तर्क छ। नयाँ सरकार नबनुन्जेल कामचलाउ मुख्यमन्त्री उद्धव थापा नै रहने सरकारी वकिलहरूको भनाइ छ।

कोशी प्रदेशमा उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय असंवैधानिक भएको भन्दै बदर भएकाले नयाँ सरकार नबनुन्जेल आफू कामचलाउ मुख्यमन्त्री रहने हिक्मत कार्की बताउँछन्।

अदालतले साउन १७ गतेसम्म नयाँ सरकार गठन गर्न आदेश दिए पनि त्यो अवधिमा मुख्यमन्त्रीको कार्यभार कसले सम्हाल्ने भन्नेबारे केही बोलेको छैन। जसले अन्योलता सिर्जना भएको मुख्यमन्त्री कार्यालयका कर्मचारीहरू बताउँछन्।

प्रदेश प्रमुख कार्यालयका निमित सचिव नरेन्द्रकुमार श्रेष्ठले भने कामचलाउ मुख्यमन्त्री प्रदेश प्रमुखले तोक्ने प्रचलन रहेको बताए।

प्रदेश प्रमुखको कार्यालयले कुनै निर्णय गरिसकेको छैन। मुख्यमन्त्री कार्यालयको बोर्ड र वेबसाइटमा थापाकै नाम मुख्यमन्त्रीमा कायम रहेको छ।