अकुत सम्पत्ति कमाएका सुब्बामाथि डेढ करोडभन्दा बढी भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका सुब्बा साकिर अहमदउपर डेढ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार पाँचौं तहका कर्मचारी अहमदउपर १ करोड ५५ लाख ७९ हजार ६ सय ९५ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर भएको हो । अकुत सम्पत्ति जोडेका सुब्बा साकिरको श्रीमती र छोराको पनि स्रोत नखुलेको हो ।

आयोगले जारी गरेको विज्ञप्तिमा अहमदले गैरकानूनी कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनले सरकारी सेवा प्रवेश गरेको मिति २०४८/१०/१५ देखि २०७८/०६/३० सम्मको समग्र आय तथा व्ययको विश्लेषण गर्दा निजको वैध आयतर्फ पारिश्रमिक आय, घरजग्गा बिक्री आय, विभिन्न भत्ता, कर्जाको आय, कृषि आय, विदेशबाट प्राप्त रेमिट्यान्स, सवारीसाधन बिक्री, निर्माण सेवा आम्दानी र बैंक व्याजबाट प्राप्त आयसमेत गरी जम्मा एक करोड १६ लाख ५३ हजार नौ सय सन्ताउन्न रूपैयाँ एघार पैसा वैध आय भेटिएको हो ।

आयको अनुपातमा सोही अवधिमा निजले सिर्जना गरेका खर्च तथा लगानीतर्फ बैंकको ऋण चुक्ता, अध्ययन खर्च, कम्पनी लगानी, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, ऋण दिएको, पूँजीगत लाभकर, शेयर खरिद, सवारीसाधन खरिद, विद्युतीय उपकरण खरिद र बैंक मौज्दात समेत गरी दुई करोड बहत्तर लाख तेत्तीस हजार छ सय बाउन्न रूपैंया उनान्सत्तरी पैसा खर्च तथा लगानी देखिन आएबाट सो सिर्जित आयबाट निजको ब्यय घटाउँदा हुन आउने एक करोड पचपन्न लाख उनासी हजार छ सय पन्चानब्बे रुपैया अन्ठाउन्न पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को बैधानिक स्रोत नखुलेको आयोगको दावी आरोप पत्रमा छ ।

आरोप पत्रमा उनको बैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएबाट बैधानिक रुपले आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने किसिमको उनको परिवारले अमिल्दो र अस्वभाविक जीवन यापन गरेको प्रमाणित हुन आएकोले अहमदले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै बिगो एक करोड पच्पन्न लाख उनासी हजार छ सय पन्चान्नब्बे रूपैयासहित जरिवाना र कैद सजाय माग गरिएको छ ।

जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिसमेतबाट साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख बमोजिम बिगो र जरिवाना जफत गरी पाउन मागदावी आरोप पत्रमा लिइएको छ।

यसैगरी, साकिरले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती नुर जहाँ र छोरा साजन शाहसमेतको नाममा जग्गा खरिद, शेयर खरिद, विभिन्न कम्पनीहरुमा लगानी तथा बैंक खातामा रकम मौज्दात लगायतमा गरिएका खर्च मध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य वरावरको भागको श्रोत नखुलेको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ कानूनअनुसार हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गरी पाउन मागदावी गरिएको छ ।