पहिरोमा परि बेपत्ता भएका मध्ये बाबु-छोरीको शव फेला‚ ३ जना अझै बेपत्ता

काठमाडौं । पहिरोले घर बगाएर बेपत्ता पारिएका मध्ये बुधबार बाबु–छोरीको शव वाग्मती खोलामा फेला परेको छ । मकवानपुर वाग्मती गाउँपालिका—५ सिक्रे दोभानका ६० वर्षीय अक्क्लबहादुर स्याङतान र उनकी २२ वर्षीर्या छोरी शिला पहरी मृत अवस्थामा हरीहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित वाग्मती नदीको बीच बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

अझै अक्कलबहादुरका ज्वाईं जीवन पहरी, ४ वर्षका मिलन र करिब डेढ वर्षीया छोरी दिव्या पहरीसहित तीन जना बेपत्ता छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान अक्कलबहादुरको घर पहिरोले बगाएर ७ जना बेपत्ता पारेको थियो । अक्कलबहादुरकी पत्नी सन्तमायाको उद्धारपछि उपचारको क्रममा मृत्यु भएको छ । पाहुना आएका पासाङ घिसिङको भने मंगलबार नै उद्धार गरिएको थियो । अहिले उनको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ ।