बरामद गरिएको तस्करीको सुन गाल्दा ६० केजी ७१६ ग्राम मात्रै

काठमाडौं । तस्करी गरेर ल्याइएको सुन मोटरसाइकलको ‘ब्रेक सु’ मा छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम मात्रै भएको हो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालेर सुन जोखिएको थियो । टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्रेक सुबाट छुट्याएर जोख्दा ६० केजी ७१६ ग्राम परिमाण पाइएको बताए ।

अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताए ।

‘सुन तस्करी काण्डमा टक्सारमा ल्याउँदा १५५ किलो भएकोमा ब्रेक सु र कार्टुनबाट निकाल्दा ६० किलो ७७९ ग्राम भएको र गालेपछि ६० किलो ७१६ ग्राम तौल आयो । गालिएका सुनलाई ३४ वटा विस्कुट बनाइएको र जर्ती ७३ ग्राम निस्किएको छ । अव गुणस्तर परीक्षण गर्छौं’, आचार्यले भने ।

भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो ।

सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ ।