रवि लामिछाने भन्छन् : शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनु मात्र हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनुमात्र रहेको बताएका छन्।

सिंहदरबारमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले भने, ‘हामीलाई के लाग्यो भने, शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेको बदनाम हुनुमात्र हो। साक्षी बस्नुको अर्थ देखिएन। हामी छलफल गर्छौं, यो विषय उहाँहरूलाई नै टुंग्याउन दिनुपर्छ।’

सामान्य विषयलाई पनि तन्काइरहने परम्परामा दलहरू रहेको उनको भनाइ छ। ‘उहाँहरूले नै टुंग्याउनु होला भनेर आफ्नो ढंगले हामी अघि बढ्नुपर्छ भन्ने लागेको छ,’ उनले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा मंगलबार बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बस्दै नबसी बुधबारका लागि स्थगित गरिएको थियो।

‘ओली अस्वस्थ भएकोले बैठकमा आउन नपाएको’ लामिछानेको भनाइ छ।

सोमबार सत्ता र प्रतिपक्षी दलहरूले सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग बनाउने सहमति गरेका थिए। यसको मस्यौदा पनि तयार भइसकेको छ। आज जाँचबुझ आयोग बनाएर सदन चलाउने भने पनि दलहरूबीच सहमति हुन सकेन। प्रतिनिधि सभा बैठक पनि बुधबार अपराह्न ३ बजेसम्मका लागि स्थगित भएको छ।