इतिहास रच्दै भारत, चन्द्रयान–३ आजै साँझ चन्द्रमामा अवतरण हुने

काठमाडौं । भारतको चन्द्रयान–३ अन्तरिक्ष यानले आज बुधबार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रमामा अवतरण गर्दै छ । कुनै समस्या उत्पन्न नभए यो समयमा यान अवतरण गर्नेछ ।

यदि भारतीय यान सकुशल चन्द्रमामा अवतरण गरे भारतले अन्तरिक्षमा इतिहास रच्नेछ । रुस, अमेरिका र चीनपछि चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गराउन सक्ने भारत चौथो राष्ट्र बन्नेछ ।

साथै, भारत चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउन सक्ने पहिलो राष्ट्र पनि हुनेछ ।

सन् २०१९ मा चन्द्रयान–२ चन्द्र अभियान असफल भएपछि भारतीय अन्तरिक्ष संस्था इस्रोले चन्द्रयान–३ अभियान संचालन गरेको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हाल ब्रिक्स सम्मेलनमा भाग लिन दक्षिण अफ्रिकामा छन् । उनले चन्द्रयानको अवतरण प्रक्रियालाई अनलाइनमार्फत हेर्नेछन् ।

इस्रोले अवतरण प्रक्रियाको भिडियो भारतीय समयअनुसार साँझ ५ बजेर २० मिनेटदेखि लाइभ टेलिकास्ट गर्नेछ । साँझ ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ को विक्रम ल्यान्डरले प्रज्ञान नाम दिइएको रोभरलाई बोकेर चन्द्रमाको दक्षिणी ध्रुवमा अवतणको प्रयास गर्नेछ ।

गत शनिबार मात्र रुसी अन्तरिक्ष यान लुना–२५ पनि चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरणका क्रममा दुर्घटनाग्रस्त बनेको थियो जसकारण यतिबेला भारतीय अन्तरिक्ष अभियानलाई विश्वभर चासोका साथ हेरिएको छ ।

इस्रोका प्रमुख एस सोमनाथका अनुसार चन्द्रयान–३ लाई चन्द्रमामा अवतरण गराउन ३० मिनेट लाग्नेछ । जसमध्ये अन्तिम १५ मिनेट निकै महत्त्वपूर्ण हुनेछ ।

सोमनाथ यस विषयमा भन्छन्, ‘अवतरण प्रक्रियामा ३० मिनेट लाग्नेछ । सही टाइमलाइन मिसनका धेरै पक्षहरूमा निर्भर हुनेछ, जस्तै ल्यान्डर मोड्युलको अवस्था, प्रणालीहरूले कसरी प्रदर्शन गरिरहेका छन्, वातावरण कस्तो छ । हामी पूर्व–निर्धारित स्थानमा अवतरण गर्नेछौँ वा नयाँ स्थान छनोट गर्नेछौँ, त्यो त्यहाँकै अवस्थाले निर्भर गर्नेछ । यदि स्थान उपयुक्त छैन भने हामीले उपयुक्त स्थान खोज्नुपर्ने हुन्छ ।’ बीबीसीहिन्दीको सहयोगमा