धेरै एयरपोर्टहरू अहिले घाम तापिरहेका छन्, ती सञ्चालन गर्न सरकारले जहाज किन्ने तयारी गरेको छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले थन्किएर बसेका एयरपोर्टहरु सञ्चालन गर्न सरकारले जहाज किन्ने तयारी गरेको बताएका छन्

आइतवार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किराँतीले सरकारले चाँडै नै अन्तर प्रदेश उडान गर्ने पनि बताए । ‘धेरै एयरपोर्टहरू अहिले घाम तापिरहेका छन्’ मन्त्री किराँतीले भने ‘ती एयरपोर्ट सञ्चालन गर्नका लागि पनि सरकारले जहाज किन्ने तयारी गरेको छ ।’

धेरै एयरपोर्टहरू पहुँचका आधारमा निर्माण भएकाले केही विमानस्थल गौचरनमा परिणत भएको किराँतीले बताए । गौचरन हुन नदिनका लागि अब बन्ने एयरपोर्ट पहुँचका आधारमा नभई आवश्यकताका आधारमा बन्नेसमेत उनले बताए ।

चीनको विभिन्न शहरहरूबाट चार्टर फ्लाइट शुरू भएको जानकारी दिँदै उनले भुटानबाट पोखरा, काठमाडौंबाट दिल्ली, हङकङ र कोलम्बोसम्मका ट्रान्जिट फ्लाइटको तयारी भइरहेको बताए ।

खाली रहेका तथा बन्द भइसकेका रुम्जाटार र लामिडाँडाजस्ता दुर्गम क्षेत्रका विमानस्थललाई पनि पुनः सञ्चालनमा ल्याउने गृहकार्य सरकारले गरिरहेको मन्त्री किराँतीले बताए ।

नक्कली भुटानी शरणार्थीदेखि ललिता निवास प्रकरण र सुन तस्करीसम्मका घटना अनुसन्धानको दायरामा ल्याउनु नै सरकारको पहिलो उपलब्धि रहेको उनकोे भनाइ थियो । अनुसन्धान भइरहेका मुद्दामा स्वयं प्रधानमन्त्री नै मुछिए पनि कारवाही हुनुपर्ने उनले बताए ।