साफ च्याम्पियनसीप फुटबल : आज नेपाल र भारत भिड्दै

काठमाण्डौ । साफ १६ वर्षमुनीको च्याम्पियनसीप फुटबलमा आज नेपाल र भारत भिड्दै छन् । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे भुटानको थिम्पुमा शुरु हुनेछ ।

नेपाल, भारत र बंगलादेश तीन टोली सम्मिलित समूह ‘ए’ को पहिलो खेलमा नेपाल बंगलादेशसँग १–० गोलले पराजित भएको थियो भने बंगलादेश भारतसँग १–० गोलले नै हारेको थियो । त्यसैले समूह चरण पार गर्न नेपालले आज भारतलाई जित्नैपर्ने दबाब छ ।

भारतसँग बराबरी वा हारले नेपाल समूह चरणबाटै बाहिरिनेछ । नेपालले भारतलाई हराए तीनवटै टोलीको समान ३ अंक हुनेछ र यस्तोमा हेड टु हेड र गोलअन्तर निर्णायक बन्नेछ ।

भारत साविक विजेता र नेपाल उपविजेता टोली हो । समूह ‘बी’ मा आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान छन् ।