एसिया कप : आज भारत र बंगलादेश भिड्दै, वर्षाको भने सम्भावना उच्च

काठमाडौं । एसीसी एसिया कप २०२३ को सुपर फोरको अन्तिम खेलमा आज भारत र बंगलादेश प्रतिस्पर्धा गर्दै छन् ।

कोलम्बोको आर प्रेमदासा स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । कोलम्बोमा आज पनि वर्षाको उच्च सम्भावना भएकाले खेल प्रभावित हुन सक्छ ।

यस अघिनै फाइनलमा पुगेको भारत प्रतियोगितामा लगातार चौथौ जित दर्ता गर्ने लक्ष्यमा छ । उसले जारी प्रतियोगितामा हार बेहोरेको छैन । पाकिस्तानसँगको समूह चरणको पहिलो खेल वर्षाका कारण निष्कर्षविहीन भएको थियो । त्यसपछि भारतले नेपाललाई पराजित गर्दा सुपर फोरमा पाकिस्तान र श्रीलंकाविरुद्ध सहज जित दर्ता गरेको थियो ।

सुपर फोरमा कुनै खेल जित्न नसकनेको बंगलादेश एसिया कपबाट बाहिरी-सकेको छ । ऊ आज भारतविरुद्ध जितसहित प्रतियोगिताको सुखद अन्य गर्दै घर र्फकर्ने योजनामा छ ।

बंगलादेशका विकेटकिपर ब्याटर मुस्फिकुर रहिमले आजको खेल गुमाउने छन् । हालै पितृत्व ग्रहण गरेका रहिमलाई बंगलादेश क्रिकेट बोर्डले नवजात बच्चा र परिवारसँग समय विताउन विदा दिएको छ । जारी प्रतियोगितामा बंगलादेशका लागि सबैभन्दा धेरै रन बनाएका नजमुल हुसेन शान्तो पनि चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् ।

फाइनल पुगिसकेको भारतलाई आजको नतिजाले कुनै परक पर्ने छैन । त्यसकारण उसले आफ्ना प्रमुख खेलाडीलाई आरम दिन सक्छ भने सूर्यकुमार यादव, तिलक वर्मा, मोहम्मद शामी, प्रसिद्ध कृष्णा, शार्दुल ठाकुर र श्रेयस अय्यरले मौका पाउन सक्छन् ।

भारत र बंगलादेशबीच अहिलेसम्म ३९ ओडीआई खेल भएका छन् । जसमा भारतले ३१ र बंगलादेशले ७ खेल जितेका छन् । एकदिवसीय एसिया कपमा दुई टोली १२ पटक आमुने सामुने हुँदा भारतले ११ र बंगलादेशले १ खेल जितेको छ ।