तत्कालीन कार्यकारी अधिकृत १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मंगलबार उक्त फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ जेठ ७ गते ऋषिराम र सम्पत्ति जफत प्रयोजनका लागि उनकी श्रीमती र दुई छोरालाई प्रतिवादी बनाएर अभियोगपत्र दायर गरेको थियो ।

अर्यालले १७ करोड ८३ लाख ४१ हजार ५७९ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो । ऋषिरामले २०३९ साल साउन १ गते राजपत्र अनंकित द्वितीय श्रेणीअन्तर्गत गाविस सचिवमा स्थायी नियुक्ति पाएर सरकारी सेवा सुरु गरेका थिए । उनी पछि नासु हुँदै शाखा अधिकृतमा बढुवा भएका थिए । उनले अधिकांश जग्गाहरु गाविस र नगरपालिकाअन्तर्गतका कार्यालयमा काम गर्दा जोडेको अख्तियारको दाबी थियो ।

सजाय निर्धारण हुन बाँकी रहेको छ ।