संविधान दिवसमा अवसरमा तनहुँ कारागारका ११ कैदी रिहा

काठमाडौं । संविधान दिवसको अवसरमा तनहुँ कारागारमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका ११ जनाको कैद मिनाहा भएको छ ।

राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम बुधबार कैदमुक्त गरिएको कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिए । संविधानको धारा २ सय ७६ मा राष्ट्रपतिले स्थानीय प्रशासनको सिफारिसको आधारमा कैद माफी मिनाहा दिन सक्ने व्यवस्था छ ।

जिल्ला प्रशासनको सिफारिसमा राम्रो आचरण भएका ०७५ भदौयतालाई ४० प्रतिशत कैद भुक्तान गरिसकेकालाई छुट पाउने प्रावधान अनुसार उनीहरू छुटेको जेलर अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार ५० देखि ६० प्रतिशत कैद भुक्तान गरेका नौ जना र ४० प्रतिशत भुक्तान गरेका दुई जना गरी ११ जना बुधबार छुटेका छन् । मिनाहा हुनेमा सबैजना पुरुष रहेको कारागारले जनाएको छ । कैदीहरूलाई बाँकी सजाय राष्ट्रपतिले मिनाहा गरिदिने परम्परा अनुसार उनीहरू कैदमुक्त भएका हुन् । गृह मन्त्रालय र कारागार विभागको पत्रानुसार सजाय मिनाहा पाएका कैदीहरूलाई संविधान दिवसको दिन बुधबार बिहान १० बजे नै बिदाइ गरेर आफन्तलाई जिम्मा लगाएर घर पठाइएको कारागारले जनाएको छ ।