एसियन खेलकुदमा भाग लिन चीनजानु अघि ललित घाइते

काठमाडौं । हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का मेडिकल संयोजक अभिशेकराज सिंहका अनुसार ललित बन्द प्रशिक्षणका दौरान घाइते भएका थिए। उनको दायाँ काधमा चोट लागेको छ भने आज शल्यक्रिया गर्ने तयारी गरिएको छ। यससँगै उनले एसियन गेम्स गुमाउन सक्छन्। अब क्यानले उनको स्थानमा अर्का खेलाडी पठाउनु पर्नेछ।

एसियाली खेलकुदको क्रिकेटतर्फको प्रतिस्पर्धा असोज १० देखि सुरू हुँदैछ। प्रतियोगिताको परिवर्तित खेल तलिकाअनुसार पुरुषतर्फ नेपाल समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसँगै माल्दिभ्स र मंगोलिया छन्।

समूह विजेता बने नेपाल क्वार्टरफाइनल पुग्नेछ। क्वार्टरफाइनलमा चार टिमले स्थान पक्का गरिसकेका छन्।

टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशलाई सिधा अन्तिम आठमा स्थान दिइएको हो। चारै टिमले एसियाली खेलकुदका लागि सिनियर टिमलाई पठाउने छैनन्।

भारतले आइपिएल खेलेका रुतुराज गायकवाडलाई कप्तान बनाएको छ भने आइपिएलमा चलेका युवा खेलाडीलाई समेटेर एसियाली खेलकुदमा टिम पठाउँदैछ।

एसियाली खेलकुदमा समूह विजेता बनेको अवस्थामा नेपालले उल्लेखित चार मध्ये एक टिमसँग अन्तिम आठमा भिड्नेछ।

अन्तिम आठमा जित हात पारेको अवस्थामा नेपालको क्रिकेटबाट एसियाली खेलकुदमा पहिलोपटक पदक जित्ने सम्भावना हुनेछ।

सेमिफाइनलमा जित हात पारे रजत पदक पक्का हुनेछ भने हार बेहोरेमा कास्यका लागि खेल्ने अवसर प्राप्त हुनेछ।