इन्द्रजात्रामा यातायात आवागमनको लागि वैकल्पिक बाटो प्रयोग गर्न महानगरको आग्रह

काठमाडौँ । इन्द्रजात्राका अवसरमा काठमाण्डौका विभिन्न ठाउँको यातायात आवागमन प्रभावित हुने भएकाले काठमाडौँ महानगरपालिकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।

महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो। इन्द्रजात्रा (यँया) पर्वबाट आज मङ्गलवारबाट सुरु भएको छ। काठमाण्डौको वसन्तपुर केन्द्रित, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्वको राष्ट्रिय पर्वका क्रियाकलाप सुरु भइसकेका छन्। यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप हिँडेर सञ्चालन गरिन्छन् । यी क्रियाकलाप हुने दिनमा तोकिएका स्थानमा सवारीसाधन प्रवेश नगराउन, त्यस मार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पुर्‍याउन महानगरले आग्रह गरेको छ।

असोज ११ गते वसन्तपुर, मरु, चिंकमुगल, जैसी देवल, लगन, ब्रह्म टोल, ह्युम, को हिटी, भीमसेन स्थान, मरु हुँदै वसन्तपुरसम्म रथयात्रा हुने हुँदा ती क्षेत्रमा यातायात आवागमन प्रभावित हुने महानगरले जनाएको छ। यसैगरी असोज १२ गते वसन्तपुर, यट्खा, नरदेवी, टेंगल, न्ह्योख , न्हेकतला, असन, मच्छिन्द्र बहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै सन्तपुरसम्म रथयात्रा हुने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न महानगरले आग्रह गरेको छ। त्यस्तै असोज १५ गते वसन्तपुर, प्यानल, यट्खा , नरदेवी, किलाघ भेडासिंह, इन्द्रचोक, मखन हुँदै सन्तपुरसम्म रथयात्रा हुनेछ। यस दिन महिलाले रथ तान्ने महानगरपालिकाले जनाएको छ।