इन्द्रजात्रा आजदेखि सुरु, लिङ्गो ठड्याएर गरियो इन्द्रध्वजोत्थान

काठमाडौं । इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान गरिएको छ । नेपाली सेनासमेत सहयोगमा हनुमान ढोका (कालभैरव क्षेत्र) बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।

इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै सुरु हुने इन्द्रजात्रा पर्वमा रथयात्रा तथा नाचगान गरिन्छ । यसवर्ष काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन् ।

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले दुवै देशबाट २२ जना पाहुना आउने बताए । अमेरिकाको फेडरिसवर्ग सिटी र चीनको नान्जिन, छेन्दु र झान्झाउ नगरपालिका र सियान सिटीबाट पाउना आउने उनको भनाइ छ । जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको हो ।

जात्रामा राष्ट्रप्रमुखबाट जीवित देवी कुमारी, गणेश, भैरवको दर्शन गर्ने परम्परा छ । जात्राको प्रचलन मल्ल राजा जयप्रकाशका पालादेखि सुरु भएको विश्वास गरिन्छ ।