गौशालास्थित डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण, घटनास्थलमा पेस्तोल पनि फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ स्थित पिंगलास्थानमा सञ्चालित डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण भएको छ । पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेर भागेका हुन् ।

घटनास्थलमा एकथान कटुवा पेस्तोल र गोली पनि फेला परेको छ । घटनास्थलमा गोली चलेको पुष्टि नभएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

प्रहरी वृत गौशालाका डिएसपी केशव थेवे घटनास्थलमा पुगेका छन् । घाइते सविर हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ । आक्रमणकारीको साथमा रहेको पेस्तोल घटनास्थमा खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।