नेविसंघले विश्वविद्यालयमा सेवा आयोगले गरिरहेको काममा अवरोध तुल्याएको छ : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले त्रिभुवन विश्वविद्यालयमा भइरहेको उपप्राध्यापक तथा प्राध्यापकको अन्तर्वार्ता रोकेको प्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘पूर्वनिर्धारित तालिकाबमोजिम प्राध्यापकहरूको वृद्धिविकासको काम अवरुद्ध भएको थियो । उहाँहरूको वृत्तिविकासको लागि त्रिभुवन विश्व विद्यालय सेवा आयोगले असोज १४ गतेदेखि अन्तर्वार्ता आरम्भ गरेको थियो । सहप्राध्यापक र प्राध्यापकको लागि । आज समाजशास्त्र र हिन्दी विषयको अन्तर्वार्ता थियो । हिजो दिउँसो नेपाल विद्यार्थी संघले तालाबन्दी गर्‍यो र आदेश गर्‍यो र यो अन्तर्वार्ता लिन पाँइदैन ।’

नेविसंघले तालाबन्दी गरेर अन्तर्वार्ता लिनका लागि आउने सेवा आयोगका अध्यक्ष र सदस्यहरूलाई गेटमै रोक्ने चेतावनी दिएकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘नेविसंघले यसप्रकारको फरमान जारी गर्‍यो । सरकारको निकट, सरकारको महत्वपूर्ण हिस्सा रहेको नेपाली कांग्रेसनिकट रहेको नेविसंघले विश्वविद्यालयमा सेवा आयोगले गरिरहेको काम अवरोध तुल्याएको छ ।’