सांसदहरूले भने : चाडपर्वका बेला पनि सरकारले कालो बजारी नियन्त्रणमा चासो दिएन

काठमाडौं । सांसदहरूले चाडपर्वलाई लक्षित गरेर कालोबजारी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद भगवती चौधरीले चाडबाडका बेला हुने कालोबजारी नियन्त्रणका लागि सरकारले ध्यान दिन नसकेको बताइन् । उनले मिटर ब्याज पीडितहरूलाई पनि सरकारले थप पीडाबाहेक अरू केही दिन नसकेको भन्दै आक्रोश व्यक्त गरिन् ।

सांसद चौधरीले भनिन्, ‘अहिले चाडबाडका बेला कालो बजारी हुन्छ । बजारमा सामान छ, उसले लुकाउन खोज्छ । चाडपर्वमा महँगो गरी बेच्नका लागि । यसको अनुगमन सरकार पक्षले तदारुकताका साथ गर्नुपर्ने काम सरकारले गरेको छैन । त्यसरी नै अहिले मुलुककी संहिता अन्तरगत मिटर ब्याज पीडितहरू झन् पीडामा परेको अवस्था छ ।’

चाडबाडका बेला सार्वजनिक सवारी साधनले यात्रुलाई ठग्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण हुने गरी अनुगमनको कामलाई व्यवस्थित बनाउन सांसद विमला सुवेदीले सरकारको ध्यानाकर्षण गराइन् । उनले समयमै कालो बजारी नियन्त्रण गरी उपभोक्तालाई मारमा पार्न नदिन पनि सरकारलाई सचेत गराइन् ।

सांसद सुवेदीले उनले भनिन्, ‘चाडबाडको समयमा मूल्यवृद्धि तथा कालोबजारी हुने, सवारी भाडामा यात्रुहरूमाथि ठगी हुने गरेको छ । बेलैमा यसको अनुगमन र नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । ’

बैठकमा बोल्दै सांसद मनिष झाले जनकपुरमा हत्या गरिएकी आरती साहलाई न्याय दिनुको सट्टा पीडा दिने काम गरेको भन्दै सरकारको आलोचना गरे ।