पश्चिमी सैन्य सहयोग रोकिए युक्रेन ‘एक हप्ता’ मात्रै टिक्छ : पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी सैन्य र आर्थिक सहायता रोकिए युक्रेन ‘एक हप्ता’ भन्दा बढी नटिक्ने बताएका छन् ।

युरोपेली संघका एक अधिकारीले अमेरिकाले सहयता रोके त्यसलाई ईयूले परिपूर्ति गर्न नसक्ने चेतावनी दिएकै दिन पुटिले यस्तो टिप्पणी गरेका हुन् ।

वाशिंगटनमा बढ्दो राजनीतिक तनावले रूससँग लड्न कीभलाई आवश्यक महत्त्वपूर्ण सैन्य र मानवीय सहायता रोकिनसक्ने चिन्ता बढेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता युक्रेनका लागि दिँदै आएको सहायता टुट्न सक्ने चिन्ता व्यक्त गरेका थिए ।

“प्रत्येक महिना आइरहेको अर्बौंको सहयताका कारण युक्रेन उभिन सकेको छ,” बिहीबार मस्को आधारित थिंक ट्यांक भल्दाई डिस्कसन क्लबको बैठकमा बोल्दै पुटिनले भनेका छन्, “यदि यो रोकियो युक्रेन एक हप्तामा सकिनेछ ।”

पुटिनले यदि पश्चिमा मुलुकहरुले गोलीबारुद दिन छोडेमा पनि युक्रेन एक हप्तामै गोलीविहीन हुने बताएका छन् । उनले भने, “यस्तै कुरा रक्षा प्रणालीमा पनि लागु हुन्छ। सहायता रोकियो भने गोलाबारुद एक हप्तामा सकिनेछ ।”