इजरायलमा हमासले गरेको आक्रमणमा परि १४ नेपाली मध्ये ९ घाइते २ जनाको अवस्था गम्भीर

काठमाडौं । इजरायलमा शनिबार प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले गरेको आक्रमणमा परेका दुई जना नेपालीको अवस्था गम्भीर छ।

परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिअनुसार १४ नेपाली कार्यरत रहेको एउटा फार्ममा पनि हमासले आक्रमण गरेको थियो। आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर छ।

‘केही मानिसको ज्यान जाने गरी र कैयौं घाइते हुने गरी इजरायलमा आज भएको आतंकवादी आक्रमणको नेपाल सरकार कडा भत्सर्ना गर्दछ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘संकटको यो घडीमा इजरायल सरकारसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्छौं।’

मन्त्रालयले इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरू आक्रमण भएको क्षेत्रमा रहेका नेपालीहरूसँग सम्पर्कमा रहेको र नेपालीको सुरक्षाका लागि इजरायली अधिकारीहरूसँग समन्वय पनि भइरहेको जनाएको छ।

युद्धको अवस्था भएकाले इजरायलमा भएका नेपालीहरूलाई चनाखो रहन र सरकारी अधिकारीहरूले सुझाएको सुरक्षा मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ।