१२ सय ४७ केजीको फर्सीले विश्व रेकर्ड राखेपछि (तस्बिर सहित)

काठमाडौं । संसारको सबैभन्दा ठूलो फर्सी कत्रो होला? त्यसको तौल कति होला? कसले अनि कसरी फलाएको होला?

गत महिना मात्रै बेलायतका ग्यारेथ ग्रिफिनले संसारको सबैभन्दा ठूलो प्याज उमारेर विश्व रेकर्ड राखेका थिए। उनले ८.९७ केजीको प्याज फलाएका थिए। त्यसबेला उनले अन्तर्वार्ताहरूमा बुवाबाट प्रेरित भएर तरकारी खेतीमा सक्रिय रहेको बताएका थिए।

सबैभन्दा ठूलो प्याज उमारेर विश्व रेकर्ड राखेको एक महिना नबित्तै सबैभन्दा ठूलो फर्सी फलाएर अमेरिकाका एक बागवानी शिक्षकले रेकर्ड राखेका छन्। मिनिसोटाका बागवानी शिक्षक ट्राभिस गेइन्जरले एक हजार दुई सय ४७ किलोग्रामको फर्सी फलाएर विश्व रेकर्डमा आफ्नो नाम लेखाएका हुन्।

याे भन्दा अघि सन् २०२१ मा इटालीका स्टेफानो कुटरुपीले एक हजार दुई सय २६ किलोग्रामको फर्सी फलाएर विश्व रेकर्ड राखेका थिए। उनको यो रेकर्डलाई गेइन्जरले तोडेका हुन्।

क्यालिफोर्नियामा भएको ५०औं विश्व च्याम्पियनसिप पम्पकिन तौल-अफमा यो विशाल फर्सी प्रस्तुत गरिएको थियो।

यो फर्सीको माइकल जोर्डन नाम एक उत्कृष्ट अमेरिकी खेलाडी माइकल जोर्डनको नामबाट राखिएको छ। विश्वको सबैभन्दा ठूलो फर्सी फलाएका बागवानी शिक्षक गेइन्जरका अनुसार जोर्डनको जर्सी नम्बर २३ थियो। र, अहिले सन् २०२३ चलिरहेको छ। गेइन्जर जोर्डनलाई एक महान बास्केटबल खेलाडीको रूपमा चित्रित गर्छन्।

गेइन्जरले यो फर्सी निकै स्याहारेर फलाएका हुन्। उनले यसलाई एक दिनमा १२ पटकसम्म पानी हाल्ने, मलजल गर्ने गरेको बताएका छन्।

संसारको सबैभन्दा ठूलो फर्सी फलाएर विश्व रेकर्ड राखेका गेइन्जरले ३० हजार अमेरिकी डलर समेत पाउनेछन्।