तीनकुने हत्या प्रकरणका मुख्य अभियुक्तविरूद्ध जीवित रहेसम्म जन्मकैद सजाय माग गर्दै मुद्दा दायर

काठमाडौं । सरकारी वकिलको कार्यालयले तीनकुने सामूहिक हत्या प्रकरणका मुख्य अभियुक्त सञ्जय भण्डारीविरूद्ध मुद्दा दायर गरेको छ।

काठमाडौंको तीनकुनेस्थित दिव्य समिलमा भएको सामूहिक हत्याको अनुसन्धान सकेर बुधबार प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा अभियुक्तलाई जीवित रहेसम्म कैद हुनेगरी जन्मकैदको सजाय मागदाबी गरिएको छ।

‘प्रतिवादीले मृतकहरू ४ जनालाई क्रुर तथा अमानवीय तवरबाट निर्ममतापूर्वक ज्यान मारेको हुँदा नीज प्रतिवादीले मुलुकी अपराध संहिता २०७४ को दफा ४१ (क) बमोजिम निर्ममतापूर्वक हत्या गरेको ठहर गरी सोही दफा ४१(क) बमोजिम नीज प्रतिवादीलाई जीवित रहेसम्म कैद हुनेगरी जन्मकैदको सजायको माग‍ गरी अभियोगपत्र पेश गरिएको छ,’ अभियोगपत्रमा भनिएको छ।

सञ्जयले भदौ ३० गते श्री दिव्य स: मिल तथा काष्ठ उद्योगमा नवीन भनिने विशाल राई, दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको हत्या गरेका थिए।

प्रहरीसँगको बयानमा सञ्जयले आफू नवीनको हत्या गर्न तीनकुने गएको तर हत्या गर्दै गर्दा अन्य व्यक्तिहरूले पनि देखेपछि उनीहरूको पनि हत्या गरेको बयान दिएका थिए।

उनले केही समयअगाडि चाबाहिलमा नवीन चढेको मोटरसाइकलले ठक्कर दिएपछि नवीनले उल्टै आफूमाथि कुटपिट गरेपछि हत्या गर्ने योजना बनाएको बताएका थिए।

प्रहरीले अनुसन्धान सकेर बुधबार नै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।