काठमाडौं । हमास र इजरायलबीच युद्ध सुरु भएको आज ९ दिन पुगिसकेको छ । हालसम्म हमासको आक्रमणबाट इजरायलमा १३ सयले ज्यान गुमाउँदा इजरायली सेनाको हवाई कारबाहीमा गाजापट्टीमा २२ सयको मृत्यु भएको छ ।
यस्तोमा इजरायलको रक्षा बलले यतिबेला हमासका सुरुङहरू खोजीखोजी आक्रमण गरिरहेको छ । इजरायली सेनाले जबल्या, जायतुन र अल-फुरकानस्थित हमासका सुरुङमा आक्रमण गरिरहेको हो । न्युयोर्क टाइम्सको रिपोर्टअनुसार यतिबेला १० हजार इजरायली सेना गाजाभित्र घुसेर मैदानी लडाइँ गर्न तयार अवस्थामा पनि छन् । इजरायली सेनाले अब गाजा स्ट्रिपमा आकाश, जमिन र समुद्रबाट आक्रमण गर्ने घोषणा गरेको छ ।
हमासले ५ हजार रकेट आक्रमण गरेपछि नै अमेरिकाले इजरायलको सहायताका लागि गत हप्ता नै पहिलो युद्धपोत यूएसएस गेराल्ड आर फोर्ड वारसिप भूमध्य सागरमा तैनाथ गरिसकेको थियो । यतिबेला अमेरिकाले दोस्रो युद्धपोत यूएसएए ड्वाइट डी आइजनहावरलाई भूमध्य सागरतर्फ पठाइसकेको अलजजिराले जनाएको छ ।
यो युद्धपोतले लडाकु विमानहरू बोक्छ र यहाँबाट क्षेप्यास्त्र र तोपगोला हान्न सकिन्छ । भूमध्यसागर, इजिप्ट र इजरायलको बीचमा गाजा स्ट्रिप पर्छ । अमेरिकी युद्धपोतबाट पनि अब गाजामा आक्रमण हुने अनुमान गरिएको छ भने जमिन र आकाशबाट पनि गाजामा आक्रमण हुने बताइएको छ ।
यसबीचमा हमासका नेता इस्माइल हानियाले कतारमा इरानका विदेशमन्त्री होसैन अमिर-अब्दुल्लाहियनसँग भेटवार्ता गरेका छन् । रोयटर्सका अनुसार अमिर-अब्दुल्लाहियनले हमासको लक्ष्य पूरा गर्न उक्त समूहलाई सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
इरानले पनि प्यालेस्टाइनले जस्तै इजरायललाई देशको मान्यता दिँदैन । इरानका सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीले यसअघि इजरायलमा आक्रमण गर्नेहरूको हात चुम्ने बताएका थिए । यद्यपि इरानले अहिलेसम्म इजरायलमा भएको आक्रमणमा आफ्नो हात नभएको बताइरहेको छ ।
Add Comment