गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन ठूलो ठूलो संघर्ष र मिहिनेत गर्नुपर्‍यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न आफूले निकै ठूलो संघर्ष र पहल गरेको बताएका छन् ।

गैरआवासीय नेपालीहरूलाई नागरिकता वितरण कार्यक्रमलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै उनले निकै ठूलो संघर्ष र मिहिनेतपछि यो सफलता हासिल गर्न सकिएको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘संविधानमा व्यवस्था भएपश्चात् पनि कानुनी व्यवस्था गर्न हामीले फेरि अर्को संघर्ष गर्नुपर्‍यो । निकै ठूलो संघर्ष र मिहिनेतपछि हामीले सफलता हासिल गरेका छौँ । पचासौं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निकै ठूलो उपलब्धि हो ।’

प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा नयाँ सरकार बन्नासाथ राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिकता विद्येयक सदर गर्न आग्रह गरेको स्मरण गरे । उनले राष्ट्रपतिबाट विधेयक सदर भएपछि कानुनमा परिणत भएको र नियमावली बनेको बताए ।

उनले भने, ‘विदेशमा रहनुभएका लाखौँ गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको संघर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ ।’ सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत् योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको बताए ।

‘यो एउटा ऐतिहासिक काम भएको छ जस्तो लाग्छ । अहिलेसम्म तीन लाखभन्दा बढी श्रमिक साथीहरू यो अभियानमा आबद्ध भइसक्नुभएको छ । आगामी दिनमा यो संख्या अरु बढ्ने हाम्रो विश्वास छ । यसमा संस्थागत रूपमा सहयोग गर्न पनि म गैरआवासीय नेपाली संघलाई आग्रह गर्दछु । तपाईंहरूले देखाउनुभएको एकता र सहकार्य आगामी दिनमा पनि कायम रहोस्’, प्रधानमन्त्रीले भने ।