हमासले बन्धक बनाएका इजरायलका दुई वृद्धा रिहा, अझै २२० जना गाजामा बन्धक

तेल अभिभ । इजरायल तथा हमासबीच पछिल्लो १७ दिनदेखि युद्ध जारी छ । यसैबीच, अहिले हमासका लडाकूहरु केही नरम देखिन थालेका छन् ।

हमासका लडाकूहरुले सोमवार साँझ थप दुई बन्धकलाई रिहा गरेका छन् । ती दुबै बन्धक इजरायलका वृद्धाहरु हुन् । हमासले दुबैलाई रिहाई गर्नुको पछाडि मानवीय कारण बताएको छ । हमासका अनुसार दुबै महिलाहरुको खराब स्वास्थ्यलाई ध्यानमा राख्दै उनीहरुलाई रिहा गर्ने निर्णय लिइएको हो । यता, इजरायलले उक्त रिहाईका लागि मिश्र तथा रेडक्रम संगठनलाई धन्यवाद दिएको छ ।

हमासले यसअघि गाजामा बन्धक बनाएर राखिएका दुई अमेरिकी महिला जूडिथ तथा उनकी छोरी नटाली रेननलाई पनि रिहा गरेका थिए । यी दुईलाई पनि मिश्रसहित राफा क्रसिङमार्फत रिहा गरिएको थियो ।

हमासले गत अक्टोबर ७ का दिन अचानक इजरायलमा आक्रमण गरेको थियो । आक्रमणलगत्तै ठूलो संख्यामा मानिसहरुलाई बन्धक बनँएर गाजातर्फ लगिएको थियो । ती बन्धकहरुमा इजरायलसहित अन्य विभिन्न देशका नागरिक समेत छन् । इजरायलका अनुसार अहिले पनि हमासको कब्जामा करिव २२० नागरिक छन् । ती मध्ये नेपाली विद्यार्थी विपिन जोशी हुनसक्ने अनुमान गरिएको छ । जोशी अक्टोबर ७ देखि नै सम्पर्कमा आएका छैनन् ।

सोमवार साँझ जो दुई महिला रिहाई भए, तीनमा ७९ वर्षीया नुरिट कूपर तथा ८५ वर्षीया योचेवेद लिफ्शिट्ज छन् । यी महिलाहरुका श्रीमान् अझै पनि हमासकै कब्जामा छन् ।

उनीहरुको नाम ८४ वर्षीय अमीरम कूपर तथा ८३ वर्षीय ओडेड लिफ्शिट्ज हो । दुबै महिलाहरुलाई मध्यराति गाजाबाट मिश्र ल्याएर रिहा गरिएको हो । पछि दुबैलाई इजरायली सेनासम्म पुर्याइएको थियो । उनीहरुलाई स्वास्थ्य परिक्षणका लागि एउटा इजरायली अस्पतालमा राखिएको छ ।

योचेवेद तथा ओडेडका नाति डेनियल लिफ्शिट्जका अनुसार अहिले उनीहरुको परिवार निकै उत्साहित छ । घरमा खुशीको वातावरण छ । उनी भन्छन्– ‘हामी निकै खुशी छौं, हाम्री हजुर आमा घर फिर्ता आउँदै हुनुहुन्छ । हामी सबै उहाँको प्रतिक्षामा छौं । हामी पनि सबै बन्धकहरुको रिहाईको प्रतिक्षामा छौं । हामीलाई हजुर आमाहरुको बारेमा थप जानकारी छैन ।’

लिफ्शिट्जकी छोरी श्यारोन भन्छिन्– ‘हाम्री आमा सुत्दा अक्सिजन सिलिण्डरको प्रयोग गर्नु हुन्छ । कम्मरमा गम्भीर दुखाईबाट पीडित हुनुहुन्छ ।’ कूपरका छोरा रोटेम भन्छन्– ‘यदि हाम्री आमालाई औषधि दिइएन भने उहाँ जीवित रहनै सक्नु हुन्न ।’

यसैबीच, मिश्रको टेलिभिजन स्टेशन अल काहेरा न्यूजले बन्धकहरुलाई मिश्रको राफा क्रसिङको माध्यमबाट रिहा गरिएको हो । टेलिभिजनले यो सफलता मिश्रको लामो समयदेखिको प्रयासपछि प्राप्त भएको दावी गरेको छ ।

लिफ्शिट्ज दम्पत्ति किबुत्ज नीर ओजका संस्थापकहरुमध्येका हुन् तथा पीस एक्टिभिस्टको रुपमा पनि चिनिन्छिन् । उनीहरु नियमित रुपमा गाजाबाट बिरामीहरुलाई उपचारका लागि इजरायलका विभिन्न अस्पतालमा ल्याउँथे ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा बन्धक बनाइएका सबैलाई यथाशिघ्र रिहा गर्नु पर्ने बताएका छन् । ‘गाजामा बन्धक बनाइएकाहरुलाई मुक्त गरिनु पर्छ, अनि मात्र अगाडि कुरा बढाउन सकिन्छ, राष्ट्रपति बाइडेले इजरायल–गाजाबीच युद्ध विराम कहिले हुन्छ रु भन्ने जिज्ञासामा यस्तो प्रतिक्रिया दिएका हुन् ।