इजरायलबाट थप एक नेपाली विद्यार्थीको शव नेपाल ल्याइयो

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दश नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज बिहीबार बिहान नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए ।

उनका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको  शव ल्याइएको हो । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दश विद्यार्थीमध्ये हालसम्म ५ जनाको शव नेपाल ल्याइएको, बाँकी पाँच जनाको शव ल्याउन सम्बद्ध नातेदारको डीएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाँडै नेपाल ल्याइने उनले बताए ।

हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम– ५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा दश नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा  ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए ।

उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपिन जोशी सम्पर्कविहीन छन् । केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका २ सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो । रासस