गृह मन्त्रालय सुधारका लागि कार्ययोजना तयार पार्न अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालय सुधारका लागि कार्ययोजना तयार पार्न पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो मन्त्रालयको कामलाई अझै प्रभावकारी र परिणाममुखी बनाउने गरी एकीकृत कार्य योजना बनाउन सो अध्ययन समिति गठन गरिएको जानकारी दिनुभएको हो ।

अध्ययन समितिमा पूर्वसचिवहरु शरदचन्द्र पौड्याल, शङ्करप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डा। खड्ग केसी, पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा। बिन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम रहनुभएको छ ।

सो समितिको सदस्य सचिवको जिम्मेवारी भने गृह मन्त्रालयका नीति तथा योजना महाशाखाका सहसचिव थानेश्वर गौतमलाई दिइएको छ । अध्ययन समितिलाई कार्ययोजना तयार पार्न तीन महिनाको समय दिइएको छ । सो समयभित्र रहेर समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, स्थानीय प्रशासन र सेवा प्रवाह र राष्ट्रिय परिचयपत्र वितरणको कामलाई अझै प्रभावकारी बनाउनका लागि आवश्यक सुझाव दिने कार्यादेश पनि दिइएको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो ।

यता, समितिका संयोजक पूर्व मुख्यसचिव पौड्यालले सरकारले दिएको जिम्मेवारी इमानदारी र लगनशीलताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफूहरुले तयार पार्ने सो अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्रीकै तहबाट प्रतिबद्धता आउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, अध्यागमन व्यस्थापन, कारागार व्यवस्थापन, स्थानीय प्रशासन र सेवा प्रवाह सुधारका लागि विभिन्न उपसमिति पनि गठन गरेको छ ।