भुकम्पमा परी घाइते भएका ५२ जना निको भई भेरी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएका ५२ जना निको भई भेरी अस्पताल नेपालगञ्जबाट घर फिर्ता हुनुभएको छ ।

भुकम्पका घाइतेको उपचार तथा अन्य ब्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले गठन गरेको समितिका फोकलपर्सन स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठका अनुसार भूकम्पपछि अस्पतालमा उपचारका लागि जाजरकोट, पश्चिम रुकुम र सल्यानका गरी ६० जनालाई भर्ना गरिएको थियो ।

अधिकांश विरामी निको भई घर फिर्ता भएपछि अब चारजना मात्र उपचाररत रहनुभएको छ । स्वास्थ्य कार्यालय बाँकेका अधिकृत श्रेष्ठले भन्नुभयो, ‘हाल अस्पतालमा जाजरकोटका २ जना र रुकुमपश्चिमका २ जना गरी चारजना मात्र उपचाररत रहनुभएको छ ।’

उपचारका लागि ल्याइएका मध्ये ३ जनालाई अन्यत्र अस्पतालमा रिफर गरिएको छ भने एक जनाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै निधन भएको थियो । भेरी अस्पतालले दिएको जानकारीअनुसार पछिल्लो एक साता यता भूकम्पमा परी घाइते भएका विरामी अन्यत्र अस्पतालबाट समेत रिफर भइआएका छैनन् ।

घाइते बिरामीको पूर्ण रूपमा निःशुल्क उपचार गरिएको समितिले जनाएको छ । यसैगरी बिहान साँझ खानाको पनि निःशुल्क ब्यवस्था मिलाइएको छ । डिस्चार्ज हुने विरामीलाई सम्बन्धित स्थानीय तह र यातायात ब्यवसायी समितिसँग समन्वय र सहकार्य गरी घर पठाउने ब्यवस्था मिलाइएको समितिले जनाएको छ । उनीहरुका लागि घरमा तत्कालका लागि आवश्यक सामग्री समेत ब्यवस्था मिलाएर पठाउने गरिएको छ ।