मुगु सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गरेका १३ जना प्रहरीलाई गरियो सम्मान

काठमाडौं । मुगुमा भएको सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गरेको भन्दै प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, प्रहरी वरिष्ठ नायव निरीक्षक नारायणप्रसाद शर्मालगायत १३ जना प्रहरीलाई बुधबार प्रशंसापत्रका साथ सम्मान गरिएको छ ।

गत कात्तिक १० गते मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुका २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज बोहोरा, आठ महिनाका छोरा रहर बोहोरा र आठ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो ।

उक्त सामूहिक हत्या गर्ने गोर्ख बहादुर शाही र गोपाल बोहोरालाई सबुत प्रमाणसहित पक्राउ गरिएको थियो । उक्त घटनाको सफल अनुसन्धान गरेको भन्दै कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बुधबार उहाँहरूलाई प्रशंसापत्र प्रदान गर्नुभएको हो ।

उक्त कार्यक्रममा डिआइजी ढकालले कर्मचारीहरूलाई अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले कुनैपनि घटनाको सम्बन्धमा जिम्मेवार भई सूक्ष्म रूपमा विधि सम्मत अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।