भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्ने गरी काम गर्नुपर्ने बताएका छन् ।
२६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रममा उनले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व भएको बताए ।
भविष्यमा भूकम्पबाट कसैले ज्यान गुमाउन नपरोस्, घाइते हुन नपरोस्, कुनै पनि परिवारले कुनै खालको भौतिक क्षति भोग्न नपरोस् भन्नका लागि सबैले मिलेर काम गर्न प्रधानमन्त्रीले आह्वान गरे ।
प्रधानमन्त्रीले भूकम्प प्रतिरोधी संरचना निर्माण र व्यवस्थित संरचनाका लागि भौतिक संरचनाको बीमा गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले भौतिक संरचनाको बीमा गर्ने व्यवस्थामा जान आवश्यक रहेको बताउँदै मन्त्रिपरिषद्ले यसबारे अध्ययन गर्ने निर्णय गरेको जानकारी दिए ।
सो अवसरमा प्रधानमन्त्रीले ‘जाजरकोट र बझाङको भूकम्पलाई जोखिमको पूर्वसङ्केतको रूपमा लिँदै ठूलो विपद्को सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम आँकलन, न्यूनीकरण, पूर्वतयारी र पूर्वसूचना प्रणालीको काम अझै घनिभूत रूपमा गर्न र स्थानीय तहको क्षमता अभिवृद्धिमा जोड दिइने स्पष्ट पारे । कार्यक्रममा प्रधानमन्त्री दाहालले २०७२ वैशाख १२ को भूकम्पले पु¥याएको मानवीय तथा भौतिक क्षतिको हाम्रो पुस्ता साक्षी भएको जनाउँदै विगतबाट गम्भीर शिक्षा लिनुपर्नेमा जोड दिए ।