अफगानिस्तानलाई हराउँदै नेपाललाई सुपर सिक्समा पुग्ने अवसर

काठमाडौँ  । दक्षिण अफ्रिकामा जारी आईसिसी यू १९ विश्वकप २०२४ मा नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा आज अफगानिस्तानसँग खेल्दैछ । दुबै टोलीका लागि खेल उत्तिकै महत्वपुर्ण रहेको छ ।

अघिल्ला दुवै खेल गुमाइसकेका दुई टोलीबीचको विजेता सुपर सिक्समा पुग्नेछ। खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।

समूह ‘डी’ को पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन पराजित नेपालले पाकिस्तानसँगको‌ अर्को खेल ५ विकेटले गुमाएको थियो ।

अफगानिस्तान पाकिस्तानसँग १ सय ८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । नेपाल र अफगानिस्तानबीचको विजेता टोली सुपर सिक्समा‌ पुग्नेछ । पराजित टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

दक्षिण एसियाका दुई चर्चित यू १९ टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् । त्यसैले आज यी दुई टोलीबीच यू१९ विश्वकपमा पहिलो पटक भेट हुनेछ ।