‘फागुन लागिसक्यो सल्लेरीमा परेन हिउँ ’

सोलुखुम्बु । सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भने, ‘फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो रु’ उमेरले ७२ वर्ष पार गरिसकेका उनी मौसममा यस प्रकारको फेरबदल पहिलो पटक अनुभव गरेको बताउँछन् ।

उनले भने, ‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन, यहाँको सबैभन्दा सुन्दर चिज भनेकै सेताम्मे डाँडापाखा र हिमाल हो, खै अब त सबै उराठलाग्दो भएको छ, यहीँ सल्लेरी पनि अब त मरुभूमिजस्तो हुन लागिसक्यो ।’ हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष हिमपात हुनसकेको छैन ।

सधैँ मङ्सिरको सुरुआतसँगै हिमपात हुने जिल्लामा यस वर्ष फागुन लागिसक्दा समेत वर्षात् तथा हिमपातको सम्भावना देखिँदैन । मौसम खुल्दै गएको छ भने तापक्रमसमेत वृद्धि हुँदै गएको हावापानी मापन केन्द्र सल्लेरीले जनाएको छ । कार्यालयका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम अहिले सात डिग्री सेल्सियससम्म पुग्न थालेको छ ।

पछिल्लो पाँच दिनदेखि यहाँको तापक्रम क्रमशः उकालो लाग्न थालेको उनले बताए । यस वर्षको हिउँदमा सोलुखुम्बुमा बितेका वर्षहरूमा झै चिसोको महसुस नभएको स्थानीय बताउँछन् ।

करिब चार वर्ष अघिसम्म पुस(माघमा अधिक चिसो हुने गरेकामा यस वर्षको त्यति धेरै चिसो नभएको गार्माका ल्हाक्पा शेर्पाको अनुभव छ ।

उनले भने, ‘मलाई थाहा हुँदासम्म पनि पुस(माघमा पूरै हिउँ पर्ने भएकाले असाध्यै चिसो हुन्थ्यो, हिउँ पग्लिन तीन(चार दिन समय लाग्थ्यो तर अहिले त्यस्तो छैन, चिसो भए पनि खासै पहिलाको जस्तो धेरै चिसो आभास नै भएन यो वर्ष ।’

हिमपात नहुँदा सल्लेरीबाट देखिने डाँडा तथा हिमाल मरुभूमिजस्ता हुँदै गएका छन् भने मौसमले समेत तराईको झल्को दिन लागेको तामाखानीका शान्तमाया घिमिरेले बताए ।

हिमपात र वर्षात्को प्रतिक्षामा रहेका यहाँका किसान निराश बन्दै गएका छन् । मङ्सिर(पुसमा हिमपात नभए पनि माघमा पक्कै हिमपात तथा वर्षात् हुन्छ भन्ने आशामा बसेका जिल्लाका किसान फागुन लाग्दासमेत हिमपातको सम्भावना नदेखिँदा उनीहरूमा निराशा छाएको हो ।

फागुन लागेपछि मौसम तातिन थालेकाले अब हिउँ र पानी पर्ने आश मर्दै गएको बेनीका डम्बरबहादुर विश्वकर्माले बताए ।

हिमपात नहुँदा गहुँबाली बारीमै सुकेर सोतर भएको छ । उनले भने, ‘बारीको बालीनाली सुकेर सोतर भयो, पानी लगाउनलाई पनि पानीका मुहान सुकेर छैन, एक ठाउँमा मात्रै भए पो पानी लगाएर हुन्थ्यो सबैको त्यस्तै छ, खेती लगाउनेलाई यसवर्र्ष याम परेन, बीउ जोगाउनै मुस्किल पर्ने भो ।’ खडेरीका कारण यहाँका किसानमा भोकमरीको चिन्ताले सताउन थालेको छ ।

लेकाली भोगमा लगाउने गहुँ, आलु, जौँ, उवाजस्ता बाली यस वर्ष सङ्कटमा परेको किसान बताउँछन् । साथै जिल्लाको पश्चिमी भेगमा उत्पादन हुने अलौँचीसमेत खडेरीको चपेटामा परेको लिखुपिकेका किसान लिखुपिके गाउँपालिका(४ का प्रेमकुमार बस्नेतको भनाइ छ ।

अलैँचीको बोटलाई ओसिलो ठाउँ आवश्यक पर्ने भए पनि खडेरीले रुखका छहारीसमेत सुक्खा हुँदा अलैँची मर्न थालेको उनी चिन्ता व्यक्त गर्छन् ।