नेपाल एयरलाइन्सको सुर्खेत–हुम्ला परीक्षण उडान

हुम्ला। लामो प्रयासपछि सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले फागुन ७ गते कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पहिलो पटक परीक्षण उडान भर्ने भएको छ ।

नेपाल एयरलाइन्सले कर्णालीका चार जिल्लामध्ये हुम्ला जिल्लाबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको हो । क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मानबहादुर चौधरीले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट फागुन ७ गतेबाट हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पहिलो पटक नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल एयरलाइन्सले उडान भर्न लागेको हो । सो उडान नियमित उडान तालिका अनुसार हुने छ । उक्त दिन नेपालगन्जबाट सिमकोटका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाजले सिमकोटबाट सुर्खेतका लागि परीक्षण उडान भर्ने छ भने सुर्खेतबाट पनि सिमकोटका लागि यात्रु उडान भर्ने तयारी गरिएको छ ।

उनले यो कर्णाली प्रदेशमा नेपाल एयरलाइन्सले कर्णालीदेखि कर्णाली कै जिल्लामा पहिलो पटक उडान भर्न लागेको बताए। उनले भने, “यसका लागि सबै तयारी पूरा भएको छ, परीक्षण उडान पछि भने नेपाल एयरलाइन्सले सुर्खेतबाटै कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि उडान भर्ने छ ।” नेपाल एयरलाइन्सको उक्त कार्यले कर्णालीका बासिन्दालाई आफ्ना प्रदेशमा हवाई यात्रा गर्न सहज हुने छ ।

यसका लागि कर्णाली प्रदेश सरकार र नेपाल एयरलाइन्सबिच केही समयअगाडिदेखि समन्वय हुँदै आएको थियो ।