महामूर्खको उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सिंहलाई प्रदान गरिने

जनकपुर । यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ। मिथिला नाट्यकला परिषद् (मिनाप)ले होली पर्वको अवसरमा आयोजना गर्ने वार्षिक ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन शुक्रबार जनकपुरधाममा उक्त घोषणा गरिएको हो।

रङ र उमङ्गको पर्व होलीका अवसरमा मिनापले हरेक वर्ष हास्यव्यङ्ग्य तथा सांस्कृतिक कार्यक्रमसहित महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ। मिथिलाको कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिँदै आएको पूर्वअध्यक्ष सुनिल मल्लिकले बताए। विशेषगरी होली पर्वसँग सम्बन्धित पौराणिक गाथा, ख्यालठट्टा तथा मैथिली भाषाका जोगिरा गीतहरूको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मिनापले यो कार्यक्रम सञ्चालन गर्ने गरेको छ।

मिथिलाञ्चलमा भोजपुरी गीतको प्रभाव बढ्दै जाँदा जोगिरा गीतहरू हराउने अवस्थामा पुगेको छ। यसै कारण पुरानो संस्कृति जोगाइराख्न मिनापले होली महोत्सवसहित महामूर्ख सम्मेलन निरन्तर आयोजना गर्दै आएको छ।

विसं २०६१ बाट प्रदान गर्न थालिएको महामूर्ख उपाधि विभिन्न राजनीतिक तथा साहित्यिक व्यक्तित्वहरूलाई दिइँदै आएको छ। पहिलो उपाधि मैथिली कवि नरेश ठाकुरलाई प्रदान गरिएको थियो। त्यसपछि क्रमशः एमाले नेता शीतल झा (२०६२), जनकपुर नगरपालिकाका तत्कालीन प्रमुख हरिबहादुर बिसी (२०६३), सद्भावना पार्टीका नेता ओमकुमार झा (२०६४) लगायतलाई यो उपाधि प्रदान गरिएको थियो।

यसैगरी, साहित्यकार डा. राजेन्द्र विमल (२०६५), पूर्वमन्त्री रामचन्द्र झा (२०६६), राजनीतिक विश्लेषक सिके लाल (२०६७), साहित्यकार रामभरोष कापडी भ्रमर (२०६८), कांग्रेस नेता रामसरोज यादव (२०६९) र तमलोपाका नेता डा. विजयकुमार सिंह (२०७०) लाई यो उपाधि प्रदान गरिएको थियो।