गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोगका उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका कामहरू लगभग पूरा हुने चरणमा पुगेकाले अब सीप विकास, उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना, कृषि उत्पादन र लगानी वृद्धिमा ध्यान केन्द्रित गर्न आग्रह गरे।

“हामीले जनतालाई सबल बनाउनुपर्छ। केवल सहयोग गरेर हुँदैन, उत्पादन र आत्मनिर्भरता बढाउने बाटो लिनुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “जनतालाई कर्मशील बनाउन प्रेरित गर्दै गरिबी घटाउने नीति अवलम्बन गर्नुपर्छ। मन्त्रालयहरूलाई उत्पादन र उत्पादकत्व बढाउने ठोस योजना ल्याउन निर्देशन दिनुपर्छ, जसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।”

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजना प्रभावकारी रूपमा अनुगमन गर्ने, उद्यमशीलताको प्रवर्द्धन गर्ने तथा सुशासन र जनसेवामा सुधार ल्याउने कामलाई प्राथमिकता दिनुपर्ने बताए।

छलफलका क्रममा आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले १६औँ योजनाको कार्यान्वयन, राष्ट्रिय आयोजना बैंकको नयाँ मापदण्ड, अपूरा योजनाको व्यवस्थापन, परियोजना मूल्याङ्कन मापदण्ड सुधार तथा समपूरक र विशेष अनुदानको कार्यविधिमा संशोधनलगायत विषयमा जानकारी गराए।

उनले परिमार्जित मापदण्डबारे प्रदेश र स्थानीय तहसँग अन्तरक्रिया गरिएको उल्लेख गर्दै वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई स्रोतसाधन सम्पन्न बनाउनुपर्नेमा जोड दिए।

छलफलमा प्रधानमन्त्रीका आर्थिक तथा विकास मामिला सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याललगायत अधिकारीहरू सहभागी थिए।