जनताको सम्पूर्ण विश्वास राष्ट्रिय स्वतन्त्र पार्टीलाई

काठमाडौँ । जेनजी विद्रोह पश्चात नयाँ जनादेशका लागि फाुगन २१ गते भएको निर्वाचनबाट नयाँ राजनीतिक दलका रुपमा २०७९ बाट उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीले अत्यधिक मत हासिल गरेको छ । जनताले महानगरका पूर्व मेयर बालेन शाहलाई हेरेर अत्यधिक मत दिएका छन् । नेपालको इतिहासमा वि.स २०१५ सालमा भएको निर्वाचत पछि अत्यधिक मत दिएर नेपाली जनताले रास्वपालाई जिताएका छन् ।
प्रत्यक्षतर्फ १२५ सिटमा जित हासिल गरिसकेको रास्वपा समानुपातिकको जारी गणनामा पनि निकै अघि छ । रास्वपाले समानुपातिकमा सदर मतको झन्डै आधा मत पाएको छ । अहिलेसम्म रास्वपाले कुल सदर मतको ४८ प्रतिशतभन्दा बढी मत प्राप्त गरिसकेको छ । अघिल्लो संसद्का ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलको अवस्था भने निकै नाजुक देखिएको छ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) बाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० सदस्य निर्वाचन हुने छन् । प्रत्यक्षमा रास्वपाले दुई तिहाइ बढी सिट हासिल गरेको छ । समानुपातिकमा पनि बहुमत सिटको हाराहारीमा छ । प्रत्यक्षमा नेपाली कांग्रेसले अग्रता कायमसहितको नतिजा हासिल गरेमा बढीमा १८, एमालेले नौ र नेपाली कम्युनिस्ट पार्टीले सात सिटमा जित हासिल गरेका छन् । श्रम संस्कृति पार्टीले तीन सिट जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक र स्वतन्त्रले एक सिटमा जित हासिल गरेका छन् ।

एक करोड नौ लाख खसेको मतमा सोमबार साँझसम्म करिब एक करोड गणना भइसकेको छ । समानुपातिकको जारी गणना अनुसार रास्वपाबाहेक कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले कानुन अनुसारको थ्रेसहोल्ड कटाएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० ९११० को व्यवस्था अनुसार सदर मतको तीन प्रतिशत कटाउने दलले मात्र समानुपातिकमा सिट पाउने व्यवस्था छ । राष्ट्रिय दलको मान्यता पाउन भने प्रत्यक्षतर्फ पनि कम्तीमा एक सिट जित्नुपर्ने छ । उक्त दफामा भनिएको छ, “।।। अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने छ ।”

राजनीतिक दलसम्बन्बन्धी ऐन, २०७३ को दफा ५२ अनुसार प्रत्यक्षको कम्तीमा एक सिट र तीन प्रतिशत थ्रेसहोल्ड कटाएर सिट पाउने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने छन् । थ्रेसहोल्ड कटाए प्रत्यक्षमा एक सिट नजिते पनि सम्बन्धित दलको मत अनुसारको सिट पाउने छ ।