कांग्रेसलगायत प्रतिपक्षी दलहरु सरकार गठनको कसरतमा

काठमाडौं । राष्ट्रपतिले दिएको तीन दिनको समयभित्रै  वैकल्पिक सरकार गठनगर्नुपर्ने भएकाेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बाेलाएकाे छ । बैठक देउवा निवास बुढानिलकण्ठमा बाेलाइएकाे हाे ।  सरकारको दाबी गर्न प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पहल सुरू गरेकाे देखिन्छ  । देउवाले केपी ओलीको विपक्षमा रहेका दल र नेताहरुसँग आजैबाट परामर्श थालेका छन् । देउवा निवास बुढानिलकण्ठमा कांग्रेस-माओवादी र जसपा तथा एमालेका ओलीविरोधी समूहबीच छलफल हुन लागेको छ । शीर्ष नेताहरुबीच अनौपचारिक छलफलहरु चलिरहेको र दिउँसो २ बजे गठबन्धनको बैठक बस्ने कांग्रेस स्रोतले जनाएको छ ।

कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड,जसपा अध्यक्ष उपेन्द्र यादवले सोमवारै वैकल्पिक सरकार गठनको आह्वान गरिसकेका थिए । आजको छलफलमा विश्वासको मत दिन अनुपस्थित एमालेको माधव पक्षका नेतालाई समेत बोलाइएको कांग्रेसले जनाएको छ । राष्ट्रपतिले वैशाख ३० गते साँझ ९ बजेसम्म दावी पेश गर्न दिएको समयसीमाभित्र बहुमत दावी गर्ने तयारी देउवा र प्रचण्डको छ । जसपाको महन्थ ठाकुर पक्षले वैकल्पिक सरकारको दिशामा नजाने बताइसकेको छ । माधव नेपाल पक्षले राजीनामा नदिएको अवस्थामा संसदको विद्यमान गणितभित्रबाट ओली विरोधी गठबन्धनले बहुमत जुटाउन गाह्रो देखिन्छ । नेपाल पक्षलाई पनि बैठकमा बोलाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

माधव पक्ष या जसपाकाे महन्थ ठाकुर पक्षले कांग्रेसकाे नेतृत्वमा सरकार गठन गर्न सहयाेग दिएमा नयाँ सरकार गठन हुन सक्छ । नभए कामचलाउ भएका प्रधानमन्त्री नै नेपालका प्रधानमन्त्री हुनेछन् । एमालेकाे माधव नेपाल खेमाले नयाँ सरकार बनाउनकाे लागि पार्टी परित्याग गर्नुपर्ने हुन्छ । त्यसकाे लािग पनि समय लाग्ने नै छ । ओलीले चालेका प्रतिगमका विरुद्ध दलहरु एकजुट भए पनि सरकार बनाउने कुरामा जोडघटाउ नमिल्नाले सहमति बन्न कठिन नै छ । महन्थपक्षको माग संविधान संसोधनको छ । जो हालै दलहरुको गठबन्धनले चाहेका छैनन् । महन्थ पक्ष हाल कांग्रेससँगभन्दा ओलीसँग निकट रहेको बुझिएको छ ।