माधवजीलाई विष्णुजीको नमस्कार

काठमाडाैं । माधव पक्षका सांसदको राजीनामा रोक्न  नेता विष्णु पौडेल बिहानै वरिष्ठ नेता माधव नेपालको निवासमा नमस्कारकाे मुद्रामा हाजिर भए । अहिले वरिष्ठ नेता नेपाल र नेता पौडेलबीच छलफल भइरहेको छ। जसपाको महन्थ ठाकुर पक्षले साथ नदिँदा बहुमत पुर्‍याउन धौधौ परिरहेको विपक्षीलाई बाटो खोलिदिन नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेपछि त्यसलाई रोक्न ओली पक्षले अन्तिम प्रयास गरिरहेको हो। यसै क्रममा नेपाल पक्षले भर्चुअल माध्यमबाट आज राख्न लागेको स्थायी कमिटी बैठकअघि विष्णु पौडेल वरिष्ठ नेता नेपाललाई भेट्न उनकै निवासमा पुगेका हुन्।

विश्वासको मत नपाएर ओली प्रधानमन्त्री (हाल कामचलाउ) पदबाट हटेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दिएको ३ दिनको समयसीमा आज राति ९ बजे सकिँदैछ। आफ्नो नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेका कांग्रेसका सभापति देउवाले आज राति ९ बजेसम्म पनि बहुमत जुटाउन सकेनन् भने धारा ७६ (३) अनुसार संसदको सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ।

अहिले संसदमा ठूलो दल (सबैभन्दा धेरै सदस्य भएको) एमाले हो भने संसदीय दलका नेता ओली नै हुन्। यसर्थ असन्तुष्ट नेपाल पक्षका सांसदको राजीनामा रोक्न सके देउवाको योजना असफल हुनेछ भने फेरि ओली नै प्रधानमन्त्री हुने बाटो खुल्नेछ। यसैका लागि ओली पक्ष नेपाल समूहका सांसदको राजीनामा रोक्ने प्रयासमा लागेको हो।