काठमाडौंका मेयर विद्यासुन्दर शाक्यद्वारा खोप केन्द्र अनुगमन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य कोभिड १९ विरुद्धको चिनियाँ खोप भेरोसेल लगाउने विभिन्न खोप केन्द्रहरुमा अनुगमन गर्न पुगेका छन् । मुलुकभर जेठ २५ गतेबाट कोभिड १९ बिरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन सुरु भईरहेका बेला प्रमुख शाक्यले महानगरपालिका क्षेत्रभित्र दोश्रो चरणको चिनियाँ खोप भेरोसेल ६० देखि ६४ बर्ष उमेर समूहका नागरिकका लागि खोप केन्द्रको व्यवस्थापकीय पक्ष र सेवा प्रवाहका बारेमा जानकारी लिन अनुगमन गर्न पुगेका हुन् ।

कोरोना विरुद्धको खोप लगाउन काठमाडौं महानगरपालिकाका ३२ वटै वडाहरुमा खोप केन्द्र तोकिएको छ । महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका खोप केन्द्रहरुको अनुगमनमा प्रमुख शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र महानगरको शहरी स्वास्थ्य बिभागका प्रमुख हरि बहादुर कुंवर सहितको टोलिले पुगेको थियो । महानगर प्रमुख शाक्यको नेतृत्वमा खोप केन्द्रहरुको अवलोकन गर्ने क्रममा मंगलबार वडा १३ कालिमाटी स्थित जनप्रभात माध्यमिक विद्यालय, वडा नं २१ यंगाल स्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, वडा नं २३ को ओम वहाल र वडा नं २५ को कन्या मन्दिर माध्यामिक विद्यालयमा राखिएका खोप केन्द्रहरुको अनुगमन गरेका थिए ।

सिमित केन्द्रहरुबाट खोप अभियान सञ्चालन गर्दा लाभग्राहीको चाप बढ्न सक्ने भएकाले महानगरपालिका क्षेत्रभित्रका ३२ वटै वडामा खोप केन्द्रहरु स्थापना गरिएको शाक्यले जानकारी दिए । लाभग्राहीहरुले आफुलाई पायक पर्ने केन्द्रमा गई खोप लगाउन सक्नेछन् । भेरोसेलको पहिलो मात्राको खोप अभियान सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाको शहरी स्वास्थ्य बिभागले खोप केन्द्रमा कम्तीमा २ जना खोपकर्ता र ६ जनासम्म स्वयमसेवकहरु परिचालन गरेको छ । खोप अभियानलाई थप व्यवस्थित गर्नको लागि केन्द्रमा प्रत्येक वडा क्लिनिकका स्वास्थ्यकर्मीहरुलाई समन्वयकर्ताको रुपमा तोकिएको समेत मेयर शाक्यले जानकारी दिए ।
स्वास्थ्य मापदण्ड कायम गराउन एक वडा एक खोप केन्द्र र उमेर समूह अनुसारका छुट्टाछुट्टै दिन तोकेर खोप कार्यक्रम सञ्चालन भई रहेको छ । जसअन्तर्गत जेठ २५ गते ६४ बर्ष उमेर समूहका र जेठ २६ गते ६३ वर्ष उमेर समुहका व्यक्तिलाई खोप प्रदान गरिसकिएको छ । जेठ २७, २८ र २९ गते क्रमशः ६२, ६१ र ६० वर्ष उमेर समुहका व्यक्तिहरुलाई खोप प्रदान गरिने छ ।

हाल सञ्चालन भैरहेको खोप अभियानमा यस अघि खोप लगाउन छुटेका र अहिले विरामीको प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न र अन्डर जव टे«निङ्मा रहेका नर्स र प्यारा मेडिक्सहरुले पनि परिचय पत्रका आधारमा खोप लगाउन सक्ने व्यवस्था गरिएको छ । साथै भेरोसेलको पहिलो मात्राको खोप लगाएका र कोभिडको संक्रमण भइ निको भएको १ महिना पूरा भएकाहरुलाई पनि दोस्रो मात्राको भेरोसेल खोप यस अभियानमा प्रदाने काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णय अनुसार ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरुलाई भेरोसेलको पहिलो मात्रा प्रदान गर्न थालिएको हो । यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णय अनुसार जेठ २ गतेबाट महानगरपालिका सहित काठमाडौँ जिल्लामा कोविड १९ विरुद्धको चिनियाँ खोप भेरो सेलको दोस्रो मात्रा लगाइएको थियो । हाल सञ्चालन भई रहेको खोप अभियानमा पनि १ लाख व्यक्तिले खोप लगाउने अपेक्षा गरिएको छ ।