साथी ढोकामा कुरुवा राखी किशोरी बलात्कारका अभियोगी प्रहरी कब्जामा

वीरगञ्ज । साथी ढोकामा कुरुवा राखी किशोरी बलात्कार अभियोगी प्रहरी कब्जामा परेका छन् । प्रहरीले १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीले किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पर्साको पर्सागढी नगरपालिका–७ फुलवरिया टोल बस्ने २० वर्षीय कृष्ण पटेललाई पक्राउ गरेको हो। पक्राउ परेका पटेलले बिहीबार राति साढे ९ बजेको समयमा १५ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको पर्सा प्रहरीले जनाएको छ।

पीडित किशोरीको परिवारका सदस्यहरू सुतिरहेको मौका छोपी बालिका सुत्ने कोठामा प्रवेश गरी पटेलले करणी गरेको तथा उनीसँगै गएका सोही नगरपालिका–६ चैनपुर टोल बस्ने २० वर्षीय अर्का युवक कमलेश सहनी किशोरी सुतेको ढोकामा कुरुवा बसेका थिए ।

जबर्जस्ती करणी गरेको भन्ने अभियोगमा पीडितका बुवाले दिएको जाहेरीका आधारमा उनीहरूमध्ये पटेललाई प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । उनलाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको तथा फरार रहेका सहनीको खोजी भइरहेको खनालले बताए।