रौतहटमा प्रहरी र स्थानीयबीच झडप

रौतहट । रौतहटको वृन्दावन नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडमा परेर केही प्रहरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

केही महिलाले नगरपालिकाको गेटमा धर्ना दिएपछि नगरपालिकाको काम प्रभावित भएको थियो । गेटमा धर्नामा बसेका महिलालाई सम्झाइबुझाई गर्न गएका प्रहरीमाथि उनीहरूले ढुंगामुढा गर्न थालेपछि प्रहरीले आधा दर्जन सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रिम शाहले जानकारी दिए । 

धर्नामा बसेका महिलाको समूहले हानेको ढुंगा लागेर प्रहरीको गाडीमा क्षति पुगेको र केही प्रहरी सामान्य घाइते भएको एसपी शाहको भनाइ रहेको छ । प्रभा सिंह नेतृत्वका महिलाले महिलाका लागि नगरपालिकाले रकम विनियोजन नगरेको भन्दै वृन्दावन नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए । 

घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको एसपी शाहले जानकारी दिए ।