रातभरको वर्षाले देशभरिका विभिन्न सडक अवरूद्ध

काठमाडाैं । हिजोदेखि सुरू भएको वर्षाका कारण आएको पहिरोले देशभरिका विभिन्न सडक अवरूद्ध भएको छन्।

राजमार्गको तनहुँ, धादिङ र चितवनका विभिन्न ठाउँमा लेदोसहित बाढीले सडकखण्ड अवरूद्ध छ। पृथ्वी राजमार्गको तनहुँ-पोखरा सडकखण्ड पनि अवरूद्ध छ। शुक्लागण्डकी वडा नम्बर ५ स्थित कुम्ले खोलामा पहिरो झरेको छ। यस्तै व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवा र छिर्कनमा पनि पहिरो झरेपछि पृथ्वीराजमार्ग अवरूद्ध रहेको प्रहरीले जनाएको छ।

तनहुँका एसपी युवराज तिमिल्सेनाका अनुसार बिहान ३ बजेदेखि नै राजमार्गमा खसेका पहिरो हटाउने काम भइरहेको छ। बन्दिपुरको गुरदुम र डुम्रेमा पनि पहिरो झरेर राजमार्ग अवरूद्ध छ। बन्दिपुर वडा नम्बर ४ तामुङमा पहिरोले २ घर बगाउँदा एक जना बेपत्ता छन्।

बाढीले तनहुँमा पुल पनि बगाएको छ। व्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको स्थानीय बासिन्दाले बताएका छन् । यस्तै नारायणघाट-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ पाँचकिलोमा पहिरो खस्दा अवरूद्ध छ। दुबैतर्फ अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको छ। साथै लुम्बिनी प्रदेशस्थित बुटवल-पाल्पास्थित सिद्धबाबा सडकखण्ड पनि पहिरोले आज बिहानैदेखि अवरूद्ध छ। पहिरो खुलाउने प्रयास भइरहेका छन्।

बिपी राजमार्गको काभ्रे खण्ड पनि पहिरोले ठाउँठाउँमा अवरूद्ध छ। बाढीले कोशीमा पानीको बहाब बढेको छ। ५६ वटा ढोकामध्ये बिहीबार बिहानसम्म २२ ढोका खुला गरिएका छन्। कोशीमा पानीको बहाब बढे पनि खतराको तह पार गरिसकेको छैन। काठमाडौं उपत्यकाभित्र पनि खोलाहरूमा पानीको बहाब बढेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले बताए। केन्द्रका अनुसार प्रदेश नम्बर १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ।