पृथ्वी राजमार्गको धादिङ खण्ड सञ्चालनमा

धादिङ ।  पहिरोले अबरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड सञ्चालनमा आएको छ। बेनीघाट रोराङ गाउँपालिका–१० तिकराङ र  मौवाखोला क्षेत्र लगायतका स्थानमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अबरुद्ध भएको थियो।

सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकमा थुप्रिएका  पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। निरन्तर वर्षा भइरहेकोले राजमार्गका ठाउँ ठाउँमा पहिरो झर्ने क्रम भने रोकिएको छैन ।

पृथ्वी राजमार्गको तनहुँ खण्ड पनि एकतर्फी सञ्चालन

पहिरोले अबरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अबरुद्ध भएको थियो।

निरन्तरको प्रयासपछि पहिरो हटाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। “साना सवारी सञ्चालन भएका छन्, ठूला सवारी सञ्चालनका लागि केही समय लाग्ने देखिएको छ,” उनले भने ।

मङ्गलबारदेखिको अबिरल वर्षात्का कारण बन्दीपुरस्थित डुम्रेमा पनि आज बिहान पहिरो खसेको थियो। यसैबीच सोही राजमार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक आधा भाग सडक भासिएको छ। सडक भासिएपनि सवारी साधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। खैरेनीटारतर्फबाट नालामा बगेको पानी सडकबाटै बगिरहेको बताइएको छ।