नेपालमा २२ जनामा कालो ढुसीको संक्रमण

काठमाडाैं । कोभिड सङ्क्रमण पुष्टि भएका बिरामीमा देखिएको म्युकर माइकोसिस (कालो ढुसी) का सङ्क्रमितहरु नेपालमा अहिलेसम्म २२ जना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी डा.समीर अधिकारीका अनुसार अहिले नेपालका विभिन्न जिल्लामा गरी २२ जनामा सङ्क्रमण पुष्टि भएको बताएका छन्। अहिले कुन अस्पतालमा कति छन् भन्ने यकिन भने भइनसकेको उनले बताए ।

यता त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अहिलेसम्म म्युकर माइकोसिसका १५ जना बिरामी भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । जसमध्ये अहिले आठ जना उपचाररत छन् भने एक जनाको मृत्यु भएको र बाँकी डिस्चार्ज भएको अस्पतालका डा. राजेन्द्र प्रधानाङ्गले बताए । डिस्चार्ज भएकामध्ये केहीको आँखाको शल्यक्रिया गरेर घर पठाइएको छ भने केहीको शल्यक्रिया गर्न नै नमिलेका कारण घर पठाउनुपरेको उनले बताए ।

शल्यक्रिया गरेर घर फिर्ता भएकाहरुमा पूर्णतया निको हुने सम्भावना कम नै रहेको उनको भनाइ छ । “यो शल्यक्रिया गरेपछि निको हुन्छ नै भन्ने हुँदैन, हामीले आँखा वरिपरि जमेको रगत सफा गरेर हेर्छौ त्यसपछि मात्र शल्यक्रिया गर्ने नगर्ने निधो गर्छौ । हामीकहाँ आएका अधिकांश बिरामीहरु धेरै जटिलता भएपछि मात्र आएको कारणले पनि शल्यक्रिया गर्न नै समस्या भैरहेको छ ” उनले भने । कालो ढुसीको सङ्क्रमण भएको शङ्का लागेपछि नै अस्पतालमा जान उनले सुझाव दिए ।