एजेन्सी । युरो कपको उपाधि कसको हातमा जाने भन्ने एककिसिमको चासो उत्पन्न भएको छ । युरोपियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युरो कपको १६ औँ संस्करणको उपाधिका लागि इङ्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्दैछन् । खेल इङ्ल्यान्डको घरेलु मैदान वेम्बली स्टेडियममा आइतबार नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ ।
पहिलोपटक युरो कपको फाइनल प्रवेश गरेको इङ्ल्याल्ड पहिलो प्रयासमै उपाधि हात पार्ने लक्ष्यमा हुनेछ । उसलाई घरेलु दर्शकको पनि राम्रो साथ मिल्नेछ ।इङ्ल्यान्डले सन् १९६६ को फिफा विश्वकप उपाधि हात पारेयता उसले पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो ।
घरेलु मैदानमा भएको त्यो विश्वकपछि इङ्ल्यान्डले पहिलोपटक मुख्य प्रतियोगितामा फाइनल खेल्दै छ र त्यो पनि घरेलु मैदानमा । उसलाई ५५ वर्ष अघिको इतिहास दोहोर्याउने अवसर मिलेको छ तर पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको इटालीलाई हराउन त्यति सहज भने छैन ।
पछिल्ला ३३ खेलमा अपराजित इटाली इङ्ल्यान्ड विरुद्धको खेलमा पनि सोही नतिजालाई कायम राख्ने सोचमा हुनेछ । सन् १९६८ को युरो उपाघि हात पारेको इटालीले पछिल्लोपटक सन् २०१२ को युरो फाइनल खेलेको थियो ।
इटाली इङ्ल्यान्डलाई हराउँदै दोस्रोपटक युरो कप उपाधि उचाल्न चाहन्छ तर घरेलु दर्शकको साथ पाउने इङ्ल्यान्डलाई पराजित गर्न त्यति सहज भने हुने छैन ।
हालसम्म यी दुईले २७ खेलमा एक अर्काको सामना गरेका छन् । इटाली ११, इङ्ल्यान्ड ८ खेलमा विजयी हुँदा ८ खेल बराबरीमा सकिएको छ । यी दुईले एक अर्काविरुद्ध मुख्य प्रतियोगितामा भने जम्मा ४ खेल खेलेका छन् । जसमा चारै खेल इटालीले आफ्नो पक्षमा पारेको छ ।
उनीहरूले मुख्य प्रतियोगितामा पहिलोपटक सन् १९८० को युरो कपमा एक अर्काको सामना गरेका थिए । यो खेलमा इटाली १-० ले विजयी भएको थियो ।
विश्वकप अन्तर्गत सन् २०१४ मा भएको पछिल्लो खेल पनि इटाली २-१ ले आफ्नो पक्षमा पारेको थियो ।
प्रतियोगितामा अपराजित रहेका दुई टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
यस्तो छ दुवै टोलीको फाइनलसम्मको यात्रा :
इङ्ल्यान्ड
युवा खेलाडीको राम्रो साथ पाएको इङ्ल्यान्डले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
इङ्ल्यान्ड २ जित र १ बराबरीको नतिजासहित ७ अंक जोडेर समूह ‘डी’को विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो । उसले समूह चरणमा क्रोएसिया र चेक गणतन्त्रलाई समान १-० ले पराजित गर्दा स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । अन्तिम १६ मा उपाधि दाबेदार मनिएको जर्मनीलाई २-० ले हराएको इङ्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनमाथि ४-० को सानदार जित दर्ता गर्याे ।
सेमिफाइनलमा डेनमार्कको चुनौतीलाई २-१ ले पन्छाउँदै इङ्ल्यान्डले पहिलोपटक युरो कपको फाइनलमा स्थान पक्का गरेको हो । ह्यारी केनको कप्तानीमा रहेको इङ्ल्यान्डले फाइनलसम्म आइपुग्दा १० गोल गर्दै जम्मा १ गोल व्यहोरेको छ । इङ्ल्यान्डलाई जोर्डन पिकफोर्ड, बुकायो साका, ह्यारी म्यागुइर, रहिम स्टर्लिङ, मेसन माउन्टजस्ता खेलाडीको साथ रहने छ ।
इटाली
इटालीले पछिल्लो समय निकै लोभलाग्दो खेल प्रस्तुत गरिरहेको छ । पछिल्ला ३३ खेलमा अपराजित उसले शतप्रतिशत जितसहित ९ अंकका साथ समूह ‘ए’ को विजेताका रूपमा अन्तिम १६ मा स्थान बनाएको हो । इटालीले समूह चरणमा टर्की र स्विट्जरल्यान्डलाई समान ३-० ले पराजित गर्दा वेल्समाथि १-० को जित हात पारेको थियो ।
उसले अन्तिम १६ मा अस्ट्रिया र क्वाटरफाइनलमा उपाधि दावेदार बेल्जियम माथि समान २-१ को जित दर्ता गर्याे । सेमिफाइनलमा उपाधि दावेदार मानिएको अर्को टोली स्पेनको चुनौतीलाई पेनाल्टी सुट आउटमा ४-२ ले पन्छाउँदै इटालीले सन् २०१२ पछि युरो फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियोे । इटालीले फाइनलसम्मको यात्रा तय गर्दा १२ गोल गर्नुका साथै ३ गोल व्यहोरेको छ । जर्जियो चिलिनीको कप्तानीमा रहेको टोलीमा अनुभवी तथा युवा खेलाडीको राम्रो मिश्रण छ ।
इटालीले लियोनार्दो बुनाची, सिरो इम्मोबीले जस्ता अनुभवी तथा जियानलुजी डोनारुम्मा, म्यानुएल लोकाटेली, फेडेरिको चेइसा जस्ता युवा खेलाडीको राम्रो साथ पाएको छ ।
Add Comment