महाधिवेशन तोकिएकै समयमा हुन्छ : देउवा


काठमाडाैं । नेपाली  काँग्रेसको  १४औँ  महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै  हुने  भएको  छ  । क्रियाशील  सदस्यको  विवाद  ७७ जिल्लामध्ये ७५ जिल्लामा समाधान भएको छ भने बारा र सप्तरीमा केही दिनभित्रै टुङ्ग्याइने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले अब सिङ्गो पार्टीलाई महाधिवेशनमा लगाउने निष्कर्ष पनि निकालेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले भदौमा तोकिएको महाधिवेशन एक दिन पनि नसर्ने स्पष्ट पार्नुभएको छ । काँग्रेसको  १४औँ  महाधिवेशन  आगामी  भदौको  १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने तय यसअघि नै भइसकेको छ । 

बैठकपछि गोरखापत्रसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, महाधिवेशन निर्धारित  कार्यतालिकाअनुसार  नै  हुन्छ,  निर्वाचन  निर्देशिकामा रहेका व्यवधानलाई समाधान गर्न एउटा समिति गठन भएको छ । त्यसले सबै कुराको अध्ययन गरेर समाधान खोज्ने छ ।’

निर्देशिकामा  देखिएका  समस्या  समाधानका  लागि  पदाधिकारी  बैठकले  पार्टीका  सहमहामन्त्री  डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाललाई जिम्मेवारी दिएको जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए । बैठकमा  सभापति  देउवाले  पार्टीको  महाधिवेशन  एक  दिन  पनि  सार्न  सकिँदैन’  भन्दै  अन्य  समस्या  समाधान  गरेर  जानुपर्छ  भनेर  महाधिवेशन  तोकिएको  समयमै  गराउने  आफ्नो  अडान  दोहोर्याएको  जानकारी  मुख्य  सचिव  पौडेलले  दिए  । 

बाँकी  रहेका बारा र सप्तरीका क्रियाशील सदस्यताको विवाद मिलाउन केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको क्रियाशील  सदस्यता  केन्द्रीय  छानबिन  समितिलाई  अझै एक दिन प्रयासका लागि समय दिने र समाधान नभएमा  नेतृत्वले  टुङ्ग्याउने  निर्णय  पनि  पदाधिकारी  बैठकले गरेको छ ।

समितिमा संयोजक रमेश लेखक, सदस्यहरूमा आनन्दप्रसाद ढुङ्गाना, श्यामकुमार घिमिरे, जीवन  परियार,  प्रदीप  पौडेल,  कल्याण  गुरुङ,  योगेन्द्र  चौधरी हुनुहुन्छ । निर्देशिकामा रहेका कतिपय प्रावधान र विधानले पारेका  अप्ठ्यारालाई  समाधान  गर्न  शनिबार  नेताद्वय  डा.  महत  र  डा.  रिजाललाई  निर्वाचन  समितिसँग  बसेर  टुङ्ग्याउन  पनि  पदाधिकारी  बैठकले  जिम्मेवारी  दिएको छ ।गोरखापत्र दैनिकबाट ।