सर्वोच्चले दलहरुको अभ्यासलाई आफू अनुकुल व्याख्या गर्यो : नेम्वाङ

काठमाडाैं । नेकपा एमालेका उपनेता सुवास नेम्वाङले सर्वोच्चले दलहरुको अभ्यासलाई आफू अनुकुल व्याख्या गरेको बताएका छन्।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेम्वाङले यस्तो बताएका हुन् ।

उनले असार २८ गतेको सर्वोच्च अदालतको फैसलाले संवैधानिक निकायबीच शक्ति सन्तुलन खल्बलिएको पनि बताएका छन्।साथै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकबीचको शक्ति सन्तुलनको अभ्यासलाई सर्वोच्चले लत्याइदिएको पनि बताए। 

‘सर्वोच्चको फैसलाबाट शक्ति सन्तुलन खल्बलिन पुगेको छ’, उनले भने, ‘देउवाले प्रधानमन्त्रीमा दाबी गर्दै गर्दा त्यहाँ कांग्रेसको निर्णयको चिठी प्रस्तुत गर्नु भएको छ। माओवादीले पनि चिठी लेखेको थियो। तर एमालेबाट देउवालाई साथ दिने सांसदलाई दलको चिठी पनि चाहिएन, ह्विप पनि लागेन। सबै नियमहरु एमालेलाई मात्रै लाग्ने रहेछ। ‘

अहिले एमालेमा देखिएको समस्या कांग्रेस-माओवादीमा पनि आउन सक्ने उनले बताए। ‘अहिले यो समस्या तपाईंहरुकहाँ छैन, हाम्रो मात्रै छ तर यसले तपाईंहरुलाई पनि अफ्ठ्यारो पार्छ’, उनले भने, ‘समस्या हुँदा तपाईंका पार्टीका नेतासँग हामी छुट्टै गठबन्धन बनाउँदैनौँ। हामी भित्रको समस्या हल गर्न हामी लागिरहेका छौँ।’

नेम्वाङले देउवा सरकार संसद अधिवेशन अन्त्यमा जान लागेको भन्दै सचेत गराए। ‘आजकाल त दिनदिनै हल्ला चल्छ अब यो संसद आजै समापनमा जाँदैछ। मलाई विश्वास नै छैन त्यस्तो होला भन्ने’, उनले भने, ‘प्रधानमन्त्रीले चाँडै अध्यादेश पो ल्याउँदैछन् भन्ने छ। तर अहिलेको सरकारले त्यो गर्दैन। हामीले अध्यादेश ल्याउँदा साथीहरुले उठाएका कुरा सम्झिरहेको छु।’

कोभिडविरुद्ध लड्न अझै पनि सरकारले पूर्णता पाउन नसकेकोमा उनले दुख व्यक्त गरे। ‘सरकारले पूर्णता पाउनुपर्ने हो तर अझै पनि पाएको छैन। स्वास्थ्य लगायत मन्त्रालय खाली छन्’, उनले थपे, ‘हामी त छिमेकी हौँ छिमेकीको चिन्ता त हुन्छ नि!’