यादव समूह नै आधिकारिक जसपा रहेको आयोगको ठहर

काठमाडाैं ।आधिकारिकताका विषयमा विवादित बनेको जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले विवादको टुंगो लगाउँदै यादव नेतृत्वको समूहलाई आधिकारिक भएको घोषणा गरिदिएको हो । 

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलासले एक साता लामो सुनुवाइपछि जसपाको आधिकारिकता बहुमतका आधारमा यादव पक्षलाई दिने फैसला सुनाएको हो।  जसपाको आधिकारिकताका लागि आयोगले आज तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल एक हुँदा हस्ताक्षर गरेका ५१ जना सदस्यलाई हेड काउन्टका लागि बोलाएको थियो। उक्त क्रममा यादवको पक्षमा ३४ जना र महन्थ ठाकुरको पक्षमा १६ सदस्य उभिएका थिए। एकजना सदस्य रेशम चौधरी तटस्थ बसेका थिए। 

राजनीतिक दल विभाजनसम्बन्धी कानुन अनुसार आयोगले पार्टीको आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जना सदस्यलाई नागरिकता र मतदाता परिचयपत्रसहित बोलाएर सनाखत गराएको थियो।  उक्त सनाखतमा यादव पक्षमा करिब दुईतिहाइ बहुमत पुगेको हो। यता जसपाको ठाकुर समूह भने ४० प्रतिशत सांसद र कार्यकारिणी सदस्य जुटाउन नसक्दा पार्टीभित्र अल्पमतमा परेको छ।

दल विभाजनका लागि केन्द्रीय समिति र दल दुवैमा ४० प्रतिशत मत आवश्यक हुन्छ। अब ठाकुर पक्षसँग यादव नेतृत्वमा रहने वा अर्को दल गठन गर्ने भन्ने बाटो मात्रै बाँकी छ।