खोप लुकाएर चैन गरिरहेका खड्का पक्राउ

झापा । सबै नागरिक खोपको लागि तड्पिरहेका छन् । तर, माफियाहरु भने खोप लुकाएर चैन गरिरहेका छन् । कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण घाममा तातिइरहँदा आफू निकट मानिसलाई लगाउनका लागि होटलमा लुकाएर राखिएको भेरोसेल खोपसहित बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

कोरोनाविरुद्धको खोप मापदण्ड विपरित आफू निकटलाई दिने गरेको सार्वजनिक भइरहेका बेला खड्का पक्राउ परेका हुन्।

नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले बिर्तामोडको होटल टाइमलेस मोमेन्ट्समा खोपसहित खड्कालाई रंगेहात समातेर प्रहरीको जिम्मा लगाएका हुन्।

खड्का पक्राउ परिसकेको र आवश्यक कानुनी कारबाही हुने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए। खड्कालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको उनले बताए।