भदौ २७ र २८ मा एमाले महाधिवेशन

काठमाडौं । नेकपा (एमाले) को आइतबार बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ। 

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले महाधिवेशनलाई व्यवस्थित गर्न कार्यदलहरू गठन गरेको छ। राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली र सङ्गठनात्मक प्रतिवेदन तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन भएको प्रवक्ता प्रदीप ज्ञवलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

बैठकले पार्टीका नेता रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ। सो प्रस्तावलाई अन्तिम रूप दिन र आवश्यक निर्णय गर्न पार्टीको केन्द्रीय कमिटी बैठक आगामी साता बस्ने भएको छ। बैठकले असोजको पहिलो साता देशभरका सबै वडामा वडा अधिवेशन र दोस्रो साता सबै पालिकामा पालिका कमिटी अधिवेशन गर्ने निर्णय गरेको छ। 

बैठकले दार्चुलामा महाकाली नदी पार गर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाको विरोध जनाउँदै सो घटनाका सत्यतथ्य प्रस्तुत गर्न, भारतीय पक्षसँग जानकारी माग्न, दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गरेको छ।

नेकपा (एमाले)को जारी स्थायी कमिटी बैठकले पालिकास्तरको कमिटीको अधिवेशन आगामी असोज ९ गतेभित्र गर्ने निर्णय गरेको छ। 

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटिको बैठकले आइतबार पार्टी सङ्गठनसम्बन्धी काम निरन्तरता दिँदै पालिका कमिटीको अधिवेशन सो मितिमा गर्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए। बैठकले साउन २४ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ। स्थायी कमिटीको बैठक सोमबार पनि जारी रहने बताइएको छ। 

यसअघि शनिबार बसेको बैठक कुनै पनि विषयमा प्रवेश नगरी स्थगित भएको थियो। प्रतिष्ठानमा नै बसेको बैठक पार्टी एकताका लागि थप पहल गर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबारसम्मका लागि स्थगित गरेका थिए। बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमाथि छलफल राखिएको थियो। 

यसैगरी शनिबार नै अध्यक्ष ओली र पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफलमा पार्टी एकताका लागि दृढतापूर्वक लाग्ने सहमति भएको थियो। सिंहदरबारमा भएको पार्टी आन्तरिक विवाद समस्या समाधान कार्यदलका नेताहरू सहभागी छलफलमा कुनै पनि हालतमा पार्टी एकतालाई जोगाउन लाग्ने गरी छलफल भएको थियो। कार्यदलले गत २७ गते १० बुँदे सहमति गरेको थियो। निर्धारित समयभन्दा केही ढिला गेर सुरु बैठकमा नेपाल पक्षीय नेता सहभागी नभए पनि पार्टी उपाध्यक्ष बामदेव गौतम सहभागी थिए।